गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले ११औं सिक्किम विधानसभाको बजेट सत्रको आज पहिलो दिन सदनमा आफ्नो बजेट भाषण पेश गरे। सिक्किमका नवनियुक्त राज्यपाल माथुरले वित्तीय वर्ष २०२४-२५ को निम्ति आफ्नो बजेट भाषण पेश गर्दै राज्यमा हालैमा सम्पन्न भएको विधानसभा र लोकसभा चुनाउमा ८३.४ प्रतिशत मतदान भएकोमा हर्ष व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनको सम्पूर्ण टीमलाई यस ऐतिहासिक जितको निम्ति हार्दिक बधाई दिए।
राज्यपालले आफ्नो सम्बोधनमा गत वर्ष अक्टोबर महिनामा आएको भयावह बाढीका कारण उत्पन्न समस्याहरूमाथि प्रकाश पारे। बाढीले बिजुली क्षेत्र प्रभावित बनेकाले राज्यलाई भइरहेको राजस्वको हानि भएको र कृषि योग्य भूमि, पशुपालन र पर्यटन केन्द्रसहित सार्वजनिक बुनियादी ढॉंचा र निजी सम्पत्तिहरूको व्यापक क्षति भएको उल्लेख गरे।
उनले आफ्नो भाषणमा राष्ट्रिय राजमार्ग १० को अवस्थामाथि पनि प्रकाश पारेका थिए। उनले राष्ट्रिय राजमार्ग १० व्यापक रूपमा क्षतिग्रस्त भएकाले सर्वसाधारणले धेरै समस्या झेल्नु परिरहेको छ भन्दै राजमार्गको पुनर्गठन, नवीनीकरण र उन्नयनको आवश्यकतामाथि बल दिए।
राज्यपालले आफ्नो सम्बोधनमा राज्यले स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, महिला सशक्तिकरण, विनिर्माण क्षेत्र, पर्यावरण, सतत विकास लक्ष्य आदि क्षेत्रहरूमा प्राप्त गरेका उपलब्धीहरूको पनि उल्लेख गरे। उनले समृद्ध एवं समावेशी सिक्किम निर्माण गर्न र विकसित भारत २०४७ का सपनाहरूलाई साकार बनाउन आह्वान गरे।
राज्यपाल माथुरले आज पेश गरेको बजेट भाषणमाथि भोलि दोस्रो दिन सदनमा चर्चा हुनेछ।










