गान्तोक: मुख्यमन्त्री तथा प्रभारी वित्त मन्त्री प्रेमसिंह तामाङले आज विधानसभामा वर्ष २०२४-२५को लागि १४४९०.६७ करोड़ रुपियाँको साधरण बजेट प्रस्तुत गरे। चार दिने बजट सत्रको आज पहिलो दिन मुख्यमन्त्रीले राज्यको बजट प्रस्तुत गर्दै यो बजट वर्ष २०१८-१९को तुलनामा १०९ प्रतिशत अधिक रहेको बताए।
मुख्यमन्त्री तामाङले सदनमा बजट सम्बोधन राख्दै सिक्किमले प्रजातन्त्र पाएको ५० वर्ष पुगेको स्वर्णीम अवसरमा लगातार छैटौंपल्ट राज्यको बजट प्रस्तुत गर्नुपाउँदा आफूलाई हर्ष लगेको बताए। उनले यसलाई एउटा ऐतिहासिक क्षण नै बताए। मुख्यमन्त्रीले आफ्नो बजट सम्बोधन हालै सम्पन्न विधानसभा र लोकसभा चुनाउमा अपार जनमतले विजयी गराएकोमा सिक्किमका सम्पूर्ण जनतालाई धन्यवादको साथमा आरम्भ गरे। सदनका नवनिर्वाचित सदस्यहरूलाई स्वागत जनाउँदै राज्य र देशको विकासमा सहकार्य गर्ने आह्वान गर्दै सबै विधानसभा सदस्यहरूको साझा लक्ष्य सिक्किमलाई एउटा नमूनाको राज्य बनाउनु हुनपर्ने कुरामा विशेष जोर दिए। यसको साथै सिक्किम राज्यलाई समृद्धि र नवप्रवर्तनको क्षेत्रमा नयाँ उच्चाईमा पुऱ्याएर विकसित सिक्किम र विकसित भारत निर्माणमा योगदान दिने आह्वान पनि गरे।
सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले आफ्नो सरकारले पछिल्लो कार्यकालमा प्राप्त गरेका केही विशेष उपलब्धीहरूमाथि सदनलाई अवगत गराए जसमा गरिबी उन्मुलनको क्षेत्रमा केरला, गोवा र तमिलनाडु पछि सिक्किम राज्य चौथो उत्कृष्ट राज्य बन्न सफल भएको प्रमुख रहेको उनले बताए। मुख्यमन्त्रीकाअनुसार अहिले सिक्किममा कूल जनसङ्ख्याको २.६ प्रतिशत मात्र गरिबी रेखा मुनी बस्छन्। यसरी नै सकल नामङ्कण अनुपातमा २८.४ प्रतिशतको राष्ट्रिय औसतको तुलनामा ३८.६ प्रतिशको साथमा सातौं श्रेष्ट राज्य बनेको, १ करोड़ भन्दा कम जनसङ्ख्या भएका राज्यहरूमा दिल्ली, चण्डिगढ़ र मिजोराम पछि चौथो सबैभन्दा डिजिटल राज्य बनेको, अपराध दरमा उल्लेखनीय गिरावट साथै जी २० को सफल आयोजना आदि पछिल्ला समय सिक्किम राज्यले प्राप्त गरेका केही प्रमुख उपलब्धीहरू रहेको मुख्यमन्त्रीले थप बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा केन्द्र सरकारले भारतलाई २०४७ सम्ममा विकसित राष्ट्र बनाउने लक्ष्य राखेर विभिन्न विकासमुखी योजनाहरू कार्यान्वयन गरेको जसलाई सिक्किम सरकारले पनि पूर्ण समर्थनकोसाथमा राज्यमा लागु गर्ने पनि मुख्यमन्त्री तामाङले आज आफ्नो सम्बोधनमा बताए। केन्द्र सरकारको प्रयासलाई थप बल दिँदै राज्य सरकारले आगामी पाँच वर्षमा पर्यटनलाई मेगा उद्योगको रुपमा परिवर्तन गर्ने दिशामा गम्भिरतासित काम गर्ने पनि उनले थप बताए। यसै सन्दर्भमा पर्यटनका क्षेत्रमा राज्य सरकारका भावी कार्यक्रम र योजनाहरू बारे पनि मुख्यमन्त्रीले सदनलाई जानकारी गराए। पर्यटनसँगै शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधार विकासको क्षेत्रमा पनि यसरीनै प्रमुखतासित काम गर्ने उनले थप बताए।
राज्य सरकारले सिक्किमे नागरिक समाजका विभिन्न तप्काको विकासलाई ध्यानमा राखेर सिक्किम चालक वेलफेयर बोर्डजस्तै अरु पनि बोर्डहरू गठन गर्न गइरहेको जसमा कृषक कल्याण बोर्ड, विद्यार्थी कल्याण बोर्ड़, अवकाशप्राप्त कर्मचारी कल्याण बोर्ड, श्रमिक कल्याण बोर्ड़, खेलकुद विकास बोर्ड र कला, संस्कृति एवं धरोहर विकास बोर्ड रहेको उनले बताए।

मुख्यमन्त्री प्रेमसिंह तामाङले जानकारी गराउनुभएअनुसार आज उनले सदनमा प्रस्तुत गरेको वर्ष ०२४-२५ को निम्ति १४४९०.६७ करोड़को बजटमा विशेष गरेर पर्यटन, सड़क, पानी, बिजली, शिक्षा, वन, सामाजिक सुरक्षा र विकासको क्षेत्रमा अघिक महत्व दिइएको छ। कूल बजटको ४ प्रतिशत पर्यटन क्षेत्रमा छुट्याइएको पनि उनले थप जानकारी गराए।
मुख्यमन्त्री प्रेमसिंह तामाङले आज प्रस्तुत गरेको बजटमाथि भोलिको सदनमा बहस हुनेछ।











