गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा र दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज केन्द्रीय जनजाति मामिला मन्त्री जुवेल ओरामसँग भेट गरे। उक्त भेट नयाँ दिल्लीस्थित मन्त्री ओरामको कार्यालयमा भएको हो। यस भेटमा, दुई सांसदले केन्द्रीय मन्त्रीसित सिक्किम र दार्जीलिङका छुटेका १२ समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने विषयमा छलफल गरे। भेटबारे जानकारी गराउँदै लोकसभा सांसद इन्द्रहाङ सुब्बाले भने, केन्द्रीय मन्त्रीलाई सिक्किम सरकारले छुटेका १२ समुदायको समर्थनमा विधानसभामा अगावै एक प्रस्ताव पारित गरिसकेको जानकारी केन्द्रीय मन्त्रीसमक्ष राख्यौं। यो विषय केन्द्र सरकारको अधिकारभित्र पर्ने भएकोले शीघ्र राम्रो परिणाम आउँछ भन्ने कुरामा विश्वस्त छौं, सांसद सुब्बाले भने। यसबीच सिक्किमका लोकसभा सांसदले सिक्किम विधानसभामा लिम्बू र तामाङ जनजातिका लागि सीट आरक्षणको मुद्दा पनि केन्द्रीय मन्त्रीसमक्ष उठाएका थिए। केन्द्रीय मन्त्रीले दुई सांसदको मागलाई ध्यान दिएर सुने र यो विषयलाई गम्भीरतासित प्रमुखता दिने आश्वासन दिएको जानकारी सांसद इन्द्रहाङ सुब्बाले जानकारी गराएका छन्।











