लण्डन: ईंग्ल्याण्डका पूर्व क्रिकेटर ग्राहम थोर्प (५५ वर्ष)-को निधन भयो। उनी २०२२-देखि गम्भीर बिमारीसँग जुझिरहेका थिए। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले थोर्पको निधनको जानकारी दिएको छ। ईंग्ल्याण्डको तर्फबाट १९९३ देखि २००५-सम्म १०० वटा टेस्ट म्याच खेल्ने थोर्प २०२२-मा अफगानिस्तानका मुख्य प्रशिक्षक नियुक्त गरिएको केही दिनपछि गम्भीर रूपले बिमार भएका थिए तर उनको चिकित्सा स्थितिको विवरण चाहिँ स्पष्ट भएको छैन। यस ब्याटरले टेस्ट क्रिकेटमा ४४.६६-को औसतले ६७४४ रन बनाएका थिए, जसमा १६ वटा शतक र ३९ वटा अर्द्धशतक सामेल छ। ईसीबी-ले थोर्पको निधनको कारण चाहिँ बताएको छैन। उनको परिवारमा पत्नी अमाण्डा र चारजना नानीहरू-हेनरी, अमेलिया, किट्टी र एम्मा छन्। ईंग्ल्याण्डका सर्वश्रेष्ठ ब्याटरहरूमा एक थोर्पले २०००-०१ सीजनको अवधि पाकिस्तान र श्रीलंकामा लगातार दुईवटा सीरीज जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। थोर्पले ईंग्ल्याण्डको तर्फबाट ८२ वटा वनडे म्याच पनि खेलेका थिए। यसमा उनले २१ वटा अर्द्धशतकको साथ ३७.१८-को औसतले २३८० रन बनाएका थिए। वनडेमा उनले २ विकेट पनि लिएका थिए।











