नयाँ दिल्ली: बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन्। विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकै १०० भन्दा धेरैको ज्यान गएपछि प्रधानमन्त्रीले देश छाडेकी हुन्।
प्रदर्शनकारीहरूले हसिनाको राजीनामाको माग गरिरहेका थिए। बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन्।
त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन्। उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ।
यसैबीच अन्तराष्ट्रिय मिडियाहरूका अनुसार शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ। शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन्। उनले त्यो मौका पाइनन्।

प्रधानमन्त्रीले देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता गरिरहेका छन्। बैठकमा राष्ट्रिय पार्टीका वरिष्ठ सहअध्यक्ष अनिसुल इस्लाम महमुद र पार्टीका महासचिव मुजिबुल हक चुन्नुलाई आमन्त्रण गरिएको छ।
यो बैठक सैनिक मुख्यालयमा चलिरहेको छ। ढाका विश्वविद्यालयका कानून विभागका प्राध्यापक आसिफ नजरुललाई पनि सेना प्रमुख जनरल वकार–उज–जमानसँगको बैठकमा आमन्त्रित गरिएको थियो। सेना प्रमुख जनरल वकार–उज–जमानले आज सोमबार जनतालाई सम्बोधन गर्ने भएका छन्। यस कुराको पहिलो पटक इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले पुष्टि गरेको थियोl आईएसपीआरका अनुसार जनतालाई हिंसाबाट टाढा रहन र धैर्यता अपनाउन अनुरोध गरिएको छ।











