खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले राखिएको दोकान पाटहरू आजदेखि भत्काउने कार्य शुरु गरेको छ। खरसाङ नगरपालिकाले बजारमा रहेको नालाहरूमाथि, मानिसहरू हिँड्ने बाटोतिर रहेको दोकानहरू साथै नगरपालिकाको नियम उल्लंघन गरेर बनाइएको दोकानहरू सबै भत्काउने कार्य सम्पन्न गरेको छ। यसको साथै बजारमा आफ्नो दोकानहरूदेखि पनि बाहिरतिर बाटोसम्म पुग्ने गरी फिँजाएको दोकानहरू भत्काउने कार्य गरिएको छ। खरसाङ बजार क्षेत्रमा रहेको अवैध दोकानहरू हटाउन साथै भत्काउन भनेर खरसाङ नगरपालिकाले गत १२ जुलाईदेखि नै माईकिङद्वारा लगातार रूपमा सूचना प्रसारण गर्दै आईरहेको थियो भने उक्त सूचनाको आधारमा धेरैजनाले हटाए पनि धेरैले अट्टेरी गरेर दोकान पाटहरू थापिरहेका थिए। आजदेखि उक्त दोकानहरू सबै भत्काउने कार्य सम्पन्न गरेको छ। खरसाङ नगरपालिकाको टिम बिहान ७:३० बजेदेखि भेला भएर दोकानहरू हटाउने तथा भत्काउने कार्य शुरु गरेका थिए भने त्योभन्दा पहिला नै कतिपय दोकानेहरूले आफै भत्काउने र हटाउने कार्य गरिरहेको पनि देखिएको छ। खरसाङ नगरपालिकाको पहलमा अवैध दोकानहरू भत्काउने कार्यमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा लगायत खरसाङ नगरपालिकाको अधिकारीहरू र कर्मचारीहरू उपस्थित रहेका थिए। यसको साथै पुलिस प्रशासन, अग्निशमन विभाग लगायत अन्य विभागका अधिकारीहरू पनि उपस्थित रहेका थिए। खरसाङ नगरपालिकाद्वारा दोकानहरू भत्काउने कार्यमा पछिबाट खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकले पनि उपस्थित भएर निरीक्षण गरेका थिए। नगरपालिकाद्वारा दोकानहरू भत्काउने कार्य गरिएपछि दोकानेहरूले गुनासो गर्दै आफुहरूलाई अर्को स्थानमा नगरपालिकाले ठाउँ दिनु पर्ने मांग गरेका छन्। दोकानेहरूले आफुहरू दोकानहरू भत्केपछि बेरोजगार बनेको र यसतर्फ पनि नगरपालिकाले ध्यान दिनेछ भनी आशा व्यक्त गरेका छन्। अर्कोतिर आजदेखि अवैध रूपमा रहेका दोकानहरू भत्काउने कार्यको थालनी गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले आज हामीले पश्चिम बंगाल नगरपालिका ऐन १९९३ अनुसार र सरकारी निर्देशनलाई पालन गर्दै गैर कानूनी रुपमा कब्जा गरिएको जमीनको दोकानहरू, नालामाथि र मानिसहरू हिँड्ने बाटोतिर रहेका दोकानहरू भत्काउने कार्य गरिएको बताएका छन्। उनले हामीले स्थायी दोकानहरूलाई भत्काएकै छैनौं तर गैर कानुनी रुपमा कब्जा गरिएको दोकानहरू भत्काउने कार्य गरिएको बताउँदै खरसाङ नगरपालिकाले अवैध निर्माणहरू भत्काउन गत १२, १५ र २५ जुलाईमा माईकिङद्वारा सूचना प्रसारण गरेको अनि कतिले हटाएको तर कतिजनाले अट्टेरी गरेको कारणले आजदेखि नगरपालिकाको जमीन अथवा जनताको जमीन, मानिसहरू हिँड्ने बाटोतिर, पानी बग्ने नालीतिर रहेको अवैध दोकानहरू भत्काउने कार्य गरिएको बताएका छन्।

खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले हामीले हाम्रो खरसाङलाई स्वच्छ र सुन्दर बनाउनुपर्छ, जनतालाई सुविधा दिनुलाई र सरकारी निर्देशनलाई पालन गरेर यो भत्काउने कार्य गरिएको जानकारी गराएका छन्। त्यसरी नै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले हामीले पहिलेबाटै सूचना दिएर नै भत्काएको हो तर कतिजनाले हाम्रो सूचनालाई हेरेर हटाउने कार्य गरेका थिए भने कतिजनाले अट्टेरी गरेको कारणले गर्दा जनताको मांग अनुसार र जनताको असुविधालाई ध्यानमा राखेर नै यो कदम चालिएको बताएका छन्। उनले यो कार्य कुनै राजनैतिक स्वार्थमा गरिएको होइन तर जनताको आवाजलाई मानेर बाटोमा हिँड्न असुविधालाई ध्यानमा राखेर जनताको मांग र सरकारको निर्देशनमा यो भत्काउने कार्य गरिएको बताएका छन्।
भाइस चेयरम्यान सुवास प्रधानले भने, आज नगरपालिकाले केवल नगरपालिकाको कब्जा गरिएको जमीनमा रहेको दोकानहरू मात्र भत्काएको हो। हामीले पहिला नै माईकिङ गरेर जानकारी गराइएको हो अनि अझैं पनि कतिले अट्टेरी गरेकोले भत्काउनु परेको हो। खरसाङको हाट बजार पूर्ण रूपमा नगरपालिकाको हो। खरसाङ हाम्रो हो। हामीले नै राम्रो बनाउनुपर्छ। खरसाङको गरिमा फर्काएर ल्याउनलाई अवैध दोकानहरू भत्काउने कार्य गरिएको छ।’

भाइस चेयरम्यान सुवास प्रधानले यो भत्काउने कार्य निरन्तर चल्ने बताउँदै आज खरसाङ बजारम़ क्षेत्रमा मात्र भत्काउने कार्य गरिएको छ। तर आगामी दिनमा खरसाङ नगरपालिकाको १ नम्बर वार्डदेखि २० वार्डसम्मका अवैध कब्जामा रहेका जमीन र अन्यहरू पनि भत्काउने कार्य गरिने पनि बताएका छन्।











