नयाँ प्रयोगमा सडक नाटक गर्दै जागृति परिवारको ५१औं स्थापना दिवस पालन 

356002f1-e6aa-4f00-a669-83655d392b05

खरसाङ: खरसाङबाट भारतीयनेपाली नाटकको क्षेत्रमा पाँच दशकदेखि विशेष भूमिका निर्वाह गर्दै आएको नाट्य संस्था जागृति परिवारले आइतबार (४ अगस्त) आफ्नो ५१औं स्थापना दिवस सम्मान, सम्वर्द्धना कार्यक्रमका साथ सडक नाटक गरेर भव्य रुपमा पालन गर्योl गोर्खा जन पुस्तकालयमा  जागृति परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा भएको यस कार्यक्रममा गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष तथा नेपाली साहित्य अकादमी नयाँ दिल्लीको परामर्श समितिकी सदस्य श्रीमती आशा लामा मुखिया मुख्य अतिथिको रुपमा उपस्थित थिइन्l जागृति परिवारको स्थापना २९ जुलाई १९७३ मा स्थापना भएको होl  

९८ वर्ष पुगेका वरिष्ठ नागरिक नागरिक तथा पुराना नाट्यकर्मी डी एस दर्नाल जागृति परिवारद्वारा सम्मानित हुँदैl

यसपाली स्थापना दिवस सधैं भन्दा केही फरक रुपमा आयोजना गरिएको थियोl कार्यक्रम शुरु हुन् अघि खरसाङ मोटर स्ट्याण्डदेखि प्रयोगात्मक सडक नाटक ‘आफै जोगिएर हिडौ’ प्रदर्शन गरियोl यो नाटक जागृति परिवारका संस्थापाक तथा भारतीय नेपाली नाटकका वरिष्ठ नाटककार पूर्ण गुरुङ ‘निरुपम’द्वारा लिखित र निर्देशित अनि लक्ष्मण गुरुङको सह-निर्देशन गरिएको थियोl वर्तमान ट्राफिक समस्यालाई  उजागर गरिएको यो सडक नाटक एकै ठाउँमा मात्र प्रदर्शन नगरेर मोटर स्ट्याण्डमा शुरु गरेर मूल सडकमा नै हिडेर नाटक गर्दै कार्यक्रम स्थलको बाहिर समापन गरियोl सडक नाटकमा यस किसिमको नयाँ प्रयोग पहिलो पटक गरिएको होl यसमा कार्यक्रम स्थल गोर्खा जन पुस्तकालयको प्रेक्षा गृहमा सडक नाटकका दुई जना कलाकार श्रीमती अरुणा सुन्दास र पेमा लामाले उपस्थित दर्शकहरूका लागि प्रस्तुत गरेl परिवारको तर्फबाट दुवै कलाकारलाई सम्मानसहित स्मृति चिन्ह प्रदान गरियोl

प्रयोगात्मक सडक नाटक ‘आफै जोगिएर हिडौ’l

श्रीमती गोमा सुब्बाद्वारा संचालित कार्यक्रममा आफ्नो स्वागत भाषणमा पूर्ण गुरुङ ‘निरुपम’ले यस सडक नाटक नयाँ प्रयोगमा गरिएको बताएl उनले नाटकका विभिन्न विधाहरू र प्रयोगहरू बारेमा बताएl उनले भने, ‘समाजमा जे घटना घटिरहन्छ त्यसलाई प्रतिबिम्बित गर्नु, दर्पणको काम गर्नु नै नाटकको मुख्य उद्देश्य होl नाटक समाजको दर्पण हो अर्थात समाजमा जे घटना घटिरहन्छ त्यसैलाई प्रतिबिम्बित गर्नु होl’ उनले नाटकका सिद्धान्तहरू बारेमा संक्षिप्तमा चर्चा गरेl उनले खरसाङमा नाटकको पृष्ठभूमि साथै जागृति परिवारको ५० वर्षको यात्राका उतारचडाव, संघर्ष अनि उपलब्धिहरू बारे आफ्नो स्वागत भाषणमा उजागर गरेl मुख्य अतिथि आशा मुखिया लामाले नाटकको विकास बारे आफ्नो भाषणमा उल्लेख गरिन्l उनले नाटकको क्षेत्रमा जागृति परिवारको भूमिका बारे प्रशंसा गरिन्l जागृति परिवारका अध्यक्ष खेमराज राईले जागृति परिवारले नाटक क्षेत्रमा गरेको कार्यहरू बारे उल्लेख गरेl            

यस कार्यक्रममा खरसाङका वरिष्ठ नागरिक पुराना नाट्य कलाकार तथा लेखक ९८ वर्षीय डी एस दर्नाललाई उनको योगदानको कदर गर्दै सम्मान जनाइयोl उनको सम्मान पत्र कार्यक्रमकी उद्घोषिका श्रीमती गोमा सुब्बाले पठन गरिन्l यसका साथै जागृति परिवारका सदस्य पत्रकार सञ्जय प्रधानलाई यस वर्षको ‘पादरी गङ्गा प्रसाद प्रधान स्मृति पुरस्कार २०२४’ ले सम्मानित भएवापत बधाई साथै सम्वर्द्धना जनाइयोl श्रीमती सबिता मंगरातीले उनको सम्मान पत्र पठन गरिन्l  दुवैलाई मुख्य अतिथि, विशिष्ट अतिथिको बाहुलीबाट अंग वस्त्र, सम्मान पत्र र स्मृति चिन्ह प्रदान गरियोl यसका साथै जागृति परिवारका आजीवन सदस्य डी एस छेत्री, दुई जना कलाकार श्रीमती इन्दिरा छेत्री प्रधान र अञ्जना गुरुङलाई पनि सम्मानसहित स्मृति चिन्ह प्रदान गरियोl कार्यक्रमका विशिष्ट अतिथि सभासद श्याम शेर्पाले ५० वर्ष पूरा गरेकोमा जागृति परिवारलाई स्मृति चिन्ह सम्मान जनाउँदै प्रदान गरेl यो स्मृति चिन्ह परिवारको तर्फबाट अध्यक्ष खेमराज राईले ग्रहण गरेl कार्यक्रममा रचिता छेत्री र सबिना परियारले नृत्य प्रस्तुत गरिन् भने कृष्ण शर्मा, विमल गुरुङ र दिपुञ्ज लामाले गीत प्रस्तुत गरेl कार्यक्रममा खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङ, गोर्खा जन पुस्तकालयका पूर्व अध्यक्ष तिलक शर्मा, शारदा संगीतालयका अध्यक्ष मोहन गुरुङ विशिष्ट अतिथिको रुपमा उपस्थित थिएl यस कार्यक्रममा पूर्ण गुरुङ ‘निरुपम’द्वारा लिखित अनि निर्देशित करिब ४६ वर्ष अघिको नाटक ‘बन्धकी राखिएको सिन्दुर’ पुन: मन्चन गर्नका लागि कुरा उठेको छl यो नाटक सन् १९७८ मा सर्वाधिक लोकप्रिय बनेर नेपालको राजधानी काठमाडौंमा सफलतापूर्वक मन्चन भएको थियोl पुराना दर्शकहरूले फेरि यो नाटक हेर्न रुचाएका छन्l

जागृति परिवारले आफ्नो स्थापना कालदेखि ‘बन्धकी राखेको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘आगो लागेको क्षितिज’, ‘शीर्षकविहीन’, ‘रातो सूर्यको अपहरण’, ‘अग्निशिखा’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’ जस्ता दर्जनौं कलात्मक नाटकहरु प्रदर्शन गरेर नब्बेको दशकको अन्त्यसम्म नाटकको क्षेत्रमा हलचल मच्चाएको थियोl यस बाहेक दर्जनौं एकांकी र सडक नाटकहरू मन्चन गरिसकेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement