दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बोइज अव् प्रधानले सेमिफाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा आइतवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा बोइज अव् प्रधानले शान्ति बस्तीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट भवन गुरुङले छैटौं र अदित्य छेत्रीले २३औं मिनटमा गोल गरे। यसरी शान्ति बस्तीबाट अर्जुन गुरुङले ५८औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा प्रवीण प्रधान र युगल खवास थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब १० अगस्तमा खेलिने पहिलो सेमिफाइनल म्याचमा शिरमूर बोइज र आयोजक आरजीएफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।










