सोरेङ: सोरेङमा जारी आमन्त्रण खुल्ला फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको एकमात्र म्याचमा रेड पाण्डा सिक्किमले दार्जीलिङ युनाइटेडलाई एक गोलको विरुद्ध ५ गोलले पराजित गरेको छ। खेल शुरु भएको ८औं मिनेटमा रेड पाण्डा सिक्किमका खेलाडी साजन मगर (१२)-ले डिबक्स बाहिरीबाट प्रहार गरेको बल गोलमा परिणत सफल बने। पहिलो हाफको खेलमा एक गोलको अग्रता लिएको रेड पाण्डाले दोस्रो हाफमा खेलको ६०औं मिनेटमा स्ट्राइकर कुन्जामान थापा (२४)-ले अर्को गोल थपे। फेरि खेलको ८८औं ९०औं मिनेटमा रेड पाण्डाका खेलाडी साजन मगर (१२)-ले लगातार दुई गोल गरे। रेड पाण्डाको तर्फबाट पाचौं गोल आकाश लामा (३)-ले गरे। आजको जितको साथै रेड पाण्डाले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। दार्जिलिङ युनाइटेडको पक्षमा एकमात्र गोल नयन प्रधान (७)-ले खेलको अन्तिम क्षण गरेका थिए। आजको खेलका उत्कृष्ट खेलाडी रेड पाण्डाका साजन मगर बने भने उनलाई पुरस्कार स्वरुप आयोजक समितिले पाँच हजार रुपियाँ प्रदान गरे। यहाँ जारी जिल्ला स्तरीय अन्तर विभागीय फुटबल म्याचमा खेलकुद एवं युवा मामिला विभागले परिवहन र आयकर विभागको संयुक्त टिमलाई एक गोलको विरुद्ध तीन गोलले परास्त गरे। आज सम्पन्न छैटौं दिनको कार्यक्रममा सडक एवं पुल विभागका प्रिन्सिपल चीफ इन्जिनियर हरि शंकर शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा सोरेङ जिल्लाकी जिल्ला अन्तर्गत सडक एवं पुल विभागका सुपरिटेन्डेन्ट इन्जिनियर तारा सुब्बा, डीई नयन बराइलीसहित अन्य अधिकारीगण, समारोह समितिका महासचिव एवं डीपीओ दिलिप शर्मा, पशुपालन विभागका अतिरिक्त निर्देशक डा. किशोर थापा, सोरेङ जिल्लाका विभागीय अधिकारीगण, सिङलिङ स्पोर्टिङ क्लबका सदस्यगण, संघ-संस्थाका प्रतिनिधिगण, सेवानिवृत्त कर्मचारीगण, आमन्त्रित अतिथिगण, आम दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।









