गान्तोक: रुम्तेक क्षेत्रका विधायक सोनाम भेन्जुङपाले आज विज्ञान एवं प्रविधी विभागले रानीपुलस्थित विज्ञान केन्द्रमा आयोजित सरोकारवालाहरूको वार्षिक समन्वय बैठकमा भाग लिए। कार्यक्रममा मुख्य अतिथि रहेका विधायक भेन्जुङपाले सामुदायिक सुविधा केन्द्र तथा प्रयोगशालाको पनि उद्घाटन गरे। यसबीच मुख्य अतिथि र अन्य वरिष्ठ अधिकारीहरूले विज्ञान केन्द्र, थ्रीडी थिएटर, तारामण्डल, र इनोभेसन प्रभागको भ्रमण गरे। आफ्नो सम्बोधनमा विधायक भेन्जुङपाले कार्यक्रममा सहभागी सबैप्रति कृतज्ञता व्यक्त गरे। उनले विज्ञान केन्द्रलाई थप विस्तार गर्न पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्र बनाउनुपर्ने सल्लाह दिए। उनले विज्ञान केन्द्रका गतिविधिहरूलाई विद्यालयको पाठ्यक्रमसँग एकीकृत गर्नुपर्नेमा जोड दिए। उनले विज्ञान केन्द्रलाई प्रचार प्रशार गर्न सरोकारवालाहरूको सहयोग महत्त्वपूर्ण बन्ने उल्लेख गरे। आफ्नो सम्बोधनमा, सचिव ताम्बेले कार्यक्रमबारे प्रकाश पारे। विज्ञान तथा प्रविधि विभागका निदेशक मन्साङ सुब्बाले सिक्किम विज्ञान केन्द्रको स्थापनाको उद्देश्यबारे बताए। यसबाहेक, बैठकले सिक्किमका सबै जिल्लाका विद्यालयका बालबालिकाहरूको भ्रमणका लागि शिक्षा विभागसँग समनम्वय राख्ने अनि सिक्किम विज्ञान केन्द्रको भूमि अतिक्रमणबारे पनि छलफल गरियो। बैठकले महत्वपूर्ण निर्णय गर्दै सिक्किम पर्यटन मानचित्रमा विज्ञान केन्द्रलाई पनि समावेश गर्ने तय गरियो। विज्ञान केन्द्रलाई अन्तरक्रियात्मक केन्द्रका करुपमा तयार गर्ने केन्द्र भ्रमण गर्न स्थानीय जनतालाई प्रेरित गर्ने छलफल पनि भएको छ। यस कार्यमा समग्र पञ्चायतहरू, ट्राभल्स एजेन्टहरू र अन्य सरोकारवालाहरूको भूमिका जरुरी बन्ने कुरामा जोर दिएको थियो। यसरी नै विज्ञान केन्द्रको इनोवेशन प्रभागलाई आधुनिकीकरण गर्ने कुरा बैठकको एजेन्टामा रहेको थियो।









