लेखकले लेख्न छोड्नु हुँदैन, पुस्तक प्रकाशित गर्न सरकार तयार छः मुख्यमन्त्री तामाङ
गान्तोक: १९ वर्ष समय खर्चिएर तयार पारिएको तथा २,३०० पृष्ठको पुस्तक-विश्वमा मानव सभ्यता- जातीय बृहत इतिहास- संस्कृति र परम्परा नामक पुस्तकको आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा लोकार्पण गरियो।
साहित्यकार टीबी चन्द्र सुब्बाद्वारा लिखित खोज एवं अनुसन्धानमूलक पुस्तकको यस लोकार्पण कार्यक्रममा मुख्यमन्त्री तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
किनार प्रकाशन गान्तोकको तत्वावधानमा आज राजधानी गान्तोकको मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णा कुमारी राई, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण लगायत साहित्यप्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पुस्तक लोकार्पण समारोह समितिका अध्यक्ष सीपी भट्टराईले स्वागत सम्बोधन राख्दै कार्यक्रम आयोजनको औचित्यमाथि प्रकाश पारेका थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख संरक्षकत्वमा स्थापना भएको परी प्रकाशनको कार्यक्रम र उपलब्धिहरूबारे पनि उनले प्रकाश पार्दै परी प्रकाशनको तत्वावधानमा तीन दिवसीय अन्तरराष्ट्रिय साहित्यिक महोत्सव सेप्टेम्बर महिनाको अन्ततिर आयोजना हुने जनाए। यसपालीदेखि परी पुरस्कार प्रदान गरिने पनि उनले जानकारी गराए।
पुरस्कार एकजना नारी र एकजना पुरूष सर्जक गरी दुईजनालाई प्रदान गरिने जानकारी गराउँदै उनले यसका लागि आगामी २० जूनभित्र सिक्किमभित्रका साहित्यिक सर्जकहरूलाई आफ्ना कृतिहरू पठाइदिन आह्वान पनि गरे।
कार्यक्रममा लोकार्पित पुस्तकको विशेषता र महत्वबारे प्राध्यापक कृष्णराज घतानीले प्रकाश पारे। यसपछि कार्यक्रममा मुख्यमन्त्रीलाई ताम्रपत्र, सरस्वतीको प्रतिमा स्मृति चिन्ह एवं अभिनन्दन पत्र प्रदान गरी सम्मान जनाइयो। यसैगरी कार्यक्रममा २१ जातगोष्ठीका संघ संस्थाहरू र साहित्यिक एवं सामाजिक चिन्तकहरूलाई अभिनन्दन जनाइयो। यसका साथै नेपाली साहित्य अध्ययन समिति, कालेबुङलाई स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकका सर्जक टीबी चन्द्र सुब्बाले पुस्तक तयार पार्दाका आफ्ना अनुभवहरू साझा गरेका थिए।
पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले लेखक टीबी चन्द्र सुब्बालाई यो कृतिको निम्ति हार्दिक बधाई दिॅंदै १९ वर्षको कठोर परिश्रमपछि यो वृहत पुस्तक तयार भएको जसले हाम्रो समाजमा एउटा ऐतिहासिक पुस्तक तयार गरेर ठूलो कार्य गरेको मन्तव्य व्यक्त गरे। हामीले हाम्रो जातिको इतिहास जान्न जरूरी रहेको बताउँदै हाम्रो इतिहास हामीले लेख्नुपर्छ र पुस्तक लेख्नुभन्दा अघि राम्ररी शोध कार्य गर्नु आवश्यक रहेको उनले सुझाउ दिए।
सम्पूर्ण जात जातिलाई समेटेर लेखिएको यो वृहत पुस्तक देशमै वृहत पुस्तक हुनसक्ने उनले विचार व्यक्त गरे। कुनै पनि विषय वस्तुको पुस्तक तयार हुनु त्यो विषयको निम्ति एउटा महत कार्य रहेको मन्तव्य व्यक्त गरे। लेख्नकले लेख्न छोड्नु हुँदैन भन्दै छपाउन कठिन भएमा वर्तमान सरकार सदैव साथमा रहेने उनले आश्वासन दिए। कसैको पनि पाण्डुलिपि त्यसै रहेको खण्डमा सरकारले प्रकाशित गरिने उनले वचन दिए।
वर्तमान सरकार भाषा, संस्कृति, साहित्य एवं कलाको संरक्षण र सम्वर्धन गर्ने सरकार रहेको बताउँदै अब सरकारले भाषा साहित्य एवं कलाहरु जोडेर विभिन्न बोर्डहरू गठन गर्ने पनि घोषणा गरे। सरकारबाट हुन सक्ने हरसम्भव सहयोग प्रदान गर्ने मुख्यमन्त्रीले बताए। कवि, लेखक, साहित्यकारहरूको पुस्तक छपाउने वर्तमान सरकारको दायित्व रहेको मुख्यमन्त्रीले जानकारी गराए। यस्ता सिर्जनशील कार्यको निम्ति लेखक टीबी चन्द्र सुब्बालाई हार्दिक बधाई दिॅंदै वर्तमान सरकारले सबै जातजातिलाई एउटा मालामा उन्ने काम गरेको अवगत गराए।
१९ वर्षको लामो परिश्रमपछि तयार पारेको यो पुस्तकले सम्पूर्ण भारतभरिका गोर्खा नेपालीहरूलाई फाईदा पुऱ्याउने उनले आशा व्यक्त गरे। २,३०० पृष्ठको यो पुस्तकलाई हाम्रै समाजले अध्ययन नगरिदिए यसको कुनै महत्व नरहने मन्तव्य जाहेर गर्दै हाम्रो समाज र जातिको निम्ति लेखिएको यो पुस्तक सबैलाई पढ्न आवहान गरे। मुख्यमन्त्रीले यो पुस्तक सरकारले ३,००० प्रति किनिदिने घोषणा गर्दै मुख्यमन्त्री कोषबाट १० लाख रुपियाँ पनि सहयोग गर्ने घोषणा गरे।










