ब्रिटेनलाई पराजित गरी भारतीय हकी टीम सेमिफाइनलमा

IMG-20240804-WA0289

पेरिस: म्याचको अधिकांश समय नै १० जना खेलाड़ीको साथ खेल्नु परे पनि भारतीय पुरुष हकी टीमले आइतवार पेरिस ओलम्पिकको क्वार्टर फाइनल म्याचमा ब्रिटेनविरुद्ध यादगार जीत हासिल गऱ्यो। अमित रोहिदासलाई दोस्रो कार्टरमा रेड कार्ड देखाएपछि ४२ मिनटसम्म दशजना खेलाड़ीको साथ खेल्नु परे पनि भारतीय टीमले ब्रिटेनलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। आफ्नो अन्तिम टुर्नामेण्ट खेलिरहेका अनुभवी गोलकीपर पीआर श्रीजेश फेरि एकपल्ट टीमको निम्ति अभेद भित्ता साबित भए। टोक्यो ओलम्पिकमा पनि भारतले ब्रिटेनलाई नै पराजित गरी अन्तिम चारमा स्थान बनाएको थियो। श्रीजेश टोक्योमा काँस्य पदकको म्याचमा जर्मनीविरुद्ध असाधारण प्रदर्शन गरेका थिए अनि उनले आज पनि आफ्नो टीमलाई निराश गरेनन्। निर्धारित समयको खेलमा भारतको तर्फबाट कप्तान हरमनप्रीत सिंह २२औं र ब्रिटेनबाट ली मोर्टनले २७औं मिनटमा गोल गरे। पेनल्टी शूटआउटमा भारतबाट कप्तान हरमनप्रीत, सुखजीत सिंह, ललित उपाध्याय र राजकुमार पालले सफलता हासिल गरे। यसरी ब्रिटेनबाट चाहिँ जेम्स अलबेरी र ज्याक वालान्सले मात्र गोल गर्न सके। कोनोर विलियम्सको निशाना चुक्यो जबकि फिलिप रोपरको प्रयासलाई श्रीजेशले रोके। भारतले अब ६ अगस्तमा खेलिने सेमिफाइनल म्याच जित्न सके पुरुष हकीमा कम्तीमा एउटा पदक पक्का हुनेछ। भारतले टोक्यो ओलम्पिकमा काँस्य पदक हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement