खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा अवैध तरिकामा राखिएको दोकान पाटहरू भोलि सोमबार ५ अगस्तदेखि भत्काउने र हटाउने कार्य गरिने खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज जानकारी दिएका छन्। उनले आज साँझ एक भिडियो जारी गर्दै भोलि सोमबारदेखि खरसाङ नगरपालिका क्षेत्रमा अवैध तरिकाले निर्माण गरिएको घरहरू र दोकानपाटहरू सरकारी निर्देशन र जनगुनासोलाई ध्यानमा राखेर हटाउने कार्य गरिने र यो लगातार रूपमा चल्ने बताएका छन्। उनले खरसाङ बजार क्षेत्रमा मानिसहरू हिँड्ने बाटोतिर अवैध तरिकाले दोकानहरू खोलेर बसेका तथा नालीतिर बनाइएको दोकानहरू र दोकान भएर पनि देकानदेखि बाहिर बाटोसम्म सामानहरू राखेर दोकान राखेर बसेका दोकानहरू पनि हटाइने भएको बताएका छन्। विशेष गरेर नगरपालिकाको नियम विरूद्ध अवैध तरिकाले राखिएको दोकानहरू भत्काउने कार्य गरिनेछ। किनभने खरसाङ नगरपालिकाको तर्फबाट धेरै अघिदेखि माईकिङ गरेर सूचना जारी गरेको थियो। माईकिङपछि धेरैले दोकानहरू हटाएका छन् भने धेरैले नगरपालिकाको सूचनालाई अट्टेरी गर्दै अवैध रूपमा दोकानहरू सञ्चालन गरिरहेको कारणले भोलि सोमबारदेखि भत्काउने कार्य गरिने नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।










