कोलम्बो: श्रीलंकाविरुद्ध वनडे क्रिकेट सीरीजको पहिलो म्याचमा भारतले टाई-मा सन्तोष गर्नु पऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो। त्यसपछि भारतीय टीम पनि ४७.५ ओभरमा २३० रन बनाएर अलआउट भयो। भारतलाई म्याच जित्न अन्तिम १४ बलमा केवल १ रनको आवश्यकता थियो तर अर्शदीप सिंह अन्तिमविकेटको रूपमा आउट हुँदा म्याच टाई भयो। म्याचपछि निराश भारतीय कप्तान रोहित शर्माले उनको टीमले श्रीलंकाविरुद्ध म्याच जित्न १४ बलमा १ रन बनाउनु पर्ने थियो भन्ने स्वीकार गरे। जीतको निम्ति २३१ रनको लक्ष्यलाई पछ्याउँदै कप्तान रोहितले आक्रामक अर्द्धशतकको साथ टीमलाई असल शुरुवात दिलाए पनि अन्तमा म्याच टाई भयो। भारतीय ब्याटरहरूलाई कोलम्बोको धीमा पीचमा श्रीलंकाका ४ जना स्पिनरहरू समक्ष संघर्ष गरिरहेको देखियो। म्याचपछि रोहितले भने, स्कोर हासिल गर्न सक्ने थियो तर यसको निम्ति तपाईंले असल ब्याटिंग गर्नु पनि जरूरी हुन्छ। हामीले टुक्रामा असल ब्याटिंग गऱ्यौं अनि लय बनाउन सकेनौं। हामीले असल शुरुवात गऱ्यौं तर स्पिन आउनको साथै खेल बद्लिने पनि हामीलाई थाहा थियो। स्पिनरहरू आएपछि केही विकेटको पतन भयो अनि हामी म्याचमा पछाड़ियौं। हामी अक्षर पटेल र केएल राहुलबीच पार्टनरशीपको सहायताले म्याचमा फर्किएका थियौं तर यी दुईजना आउट भएपछि सन्तुलन बिग्रियो। जे भए पनि १४ बलमा १ रन बनाउन नसक्दा निराश छु। यसभन्दा अधिक केही भन्न चाहदिनँ।
म्याचको कुरा गर्दा आर प्रेमादासा स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले अलराउण्डर दुनिथ वेल्लालागे (६७ रन) र ओपनर पाथुम निस्सांका (५६ रन)-को अर्द्धशतकको सहायताले २३० रन बनायो। आयोजक टीमको मीडलअर्डरले विशेष योगदान नदिए पनि वेल्लालागे र निस्सांकाको अर्द्धशतकले श्रीलंकाई टीम सम्मानजनक स्कोरसम्म पुग्यो। भारतीय बलरहरुमा अर्शदीप सिंह र अक्षर पटेलले सर्वाधिक २-२ विकेट लिए। त्यसपछि भारतलाई कप्तान रोहितले तेज शुरुवात दिलाए। उनले साथी ओपनर शुभमन गिल (३५ बलमा १६ रन)-सँग मिलेर पहिलो विकेटको निम्ति १२.४ ओभरमा ७५ रनको पार्टनरशीप गरे। त्यसपछि वेल्लालागेले यी दुईजनालाई एकै ओभरमा आउट गर्नको साथै श्रीलंकाले म्याचमा फर्किने मौका पायो। त्यसपछि विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रन बनाए पनि भारत दबाउबाट बाहिर निस्किन सकेन। यसरी एक समय १३२ रनमा ५ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट राहुल (३१ रन) र अक्षर (३३ रन)-बीच ६७ रनका पार्टनरशीप भए पनि भारतले जीत हासिल गर्न सकेन। चरिथ असालंकाले ४८औं ओभरको लगातार २ बलमा शिवम दुबे (२५ रन) र अर्शदीप सिंहलाई आउट गरी श्रीलंकालाई हार्नदेखि बचाए।