सर्वधर्म विश्व शान्ति पूजाकाे आयोजना

n62488344017226232091242a379bd926088b6e57f3f3deba1d113b45b1350eeeadf7099feac4e3a9816507

गान्तोक: राङगाङ याङगाङ समष्टिमा सर्वधर्म विश्व शान्ति पूजा आयोजना गरिने भएको छ। समष्टिका विभिन्न ठाउँहरूमा भइरहने गरेका अनेक अप्रिय घटनाहरूलाई साम्य गराउने उद्देश्यका साथ विश्वशान्ति पूजा अर्चना गरिने निधो गरिएको प्रेस विज्ञप्तिमा बताइएको छ।

विगत दुई वर्षअघि यहाँको पाथिङ गाउँमा अचानक पैह्रो खस्दा जनजीवन अस्तव्यस्त बन्यो भने स्थानीयले ठूलो नोक्सानी बेहोर्नुपऱ्यो। अतिरिक्त, केही महिनाअघि मजुवामा गएको पैह्रोका कारण तीनजनाको ज्यान गयो भने धनमाललाई पनि उत्तिकै व्यापक क्षति पुग्यो। यस्ता अकाल मृत्युका घटना र अन्य भयावह स्थिति भविष्यमा दोहोरिन नदिनका साथै अकाल मृत्यु भएकाहरूको आत्मशान्ति प्राप्ति हेतु राज्य सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङले गत महिना मजुवा पैह्रोको भ्रमण गर्ने क्रममा पूजा अर्चना गराउनुपर्ने सुझाउ दिएको विज्ञप्तिमा उल्लेख छ।

मुख्यमन्त्रीको सुझाउलाई शिरोधार्य गर्दै आउँदो १० देखि १२ अगस्त २०२४ सम्म सर्वधर्म विश्व शान्ति पूजा गरिने निश्चित भएको बताइएको छ। विशेषगरी ज्ञान टाशी पाल्देन गुम्बा याङ्गाङ, सप्तकन्या कालिका देवी मन्दिर, अप्पर याङ्गाङ अनि श्रीपताम ख्रिष्टियन चर्चमा सर्वधर्म विश्व शान्ति ज्ञानयज्ञ आयोजक समितिद्वारा पूजा अर्चना गरिनेछ। पूजामा पश्चिम सिक्किम श्रीबदामको फुन्चोक छोलिङ गुम्बाका परम् पावन टुल्कु थेक्चोक रिम्पोछे, लिङ्मो साम्दोङ अनि निया ब्रमबाट पण्डित अनिल भण्डारी सहित टोली, पास्टर मोजेस लिम्बू, श्रीपताम चर्चबाट पास्टर रोहेन लिम्बू अनि रेभ. पास्टर जोहा पल तामाङलाई आमन्त्रण गरिएको छ।

पूजा आयोजनाको विषयलाई लिएर आज सम्पन्न पत्रकार सम्मेलनमा समष्टि विधायक तथा सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका पूर्व प्रेस सचिव विकास बस्नेत, खण्ड विकास अधिकारी कुमार सुब्बा, पूजा आयोजक समितिका अध्यक्ष सोनाम भोटियाले पूजामा श्रद्धालु भक्तजनलाई सहभागी भएर प्रार्थना गरिदिन अनुरोध गरेका छन्।

About Author

Advertisement