गान्तोक: जोरथाङमा यस वर्ष भव्यताका साथ ७८औँ स्वतन्त्रता दिवस एवम् ३३औँ नेपाली भाषा मान्यता दिवस पालन गरिने भएको छ। यसको निम्ति जोरथाङकी महकुमा अधिकारी मनिका राईको अध्यक्षतामा समारोह समितिको गठन पनि भइसकेको छ।
समारोहलाई भव्य एवम् सभ्य बनाउन बिहिवार समारोह समितिकी अध्यक्ष मनिका राईको अध्यक्षतामा एउटा महत्त्वपूर्ण बैठक बसेको थियो, जहाँ विभागीय अधिकारीवर्ग, सामाजिक कार्यकर्ता एवम् स्थानीय व्यापारीवर्गको उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै समितिकी अध्यक्ष राईले स्वतन्त्रता दिवसलाई सफल बनाउन सबैले सक्रिय एवम् इमानदारीपूर्वक आ-आफ्नो जिम्मेवारी बहन गरिदिन आग्रह गरिन्। स्वतन्त्रता दिवस सम्पूर्ण देशवासीको एक महान राष्ट्रिय पर्व भएकाले प्रत्येक नागरिकको सहभागिताको आवश्यकता रहेको उनले बताइन्।
समारोहलाई उत्सवमय बनाउन विभिन्न सांस्कृतिक, साहित्यिक एवम् साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ। यस अवसरमा समाज र देशका निम्ति अमूल्य योगदान दिने विशिष्ट व्यक्तित्त्वहरूलाई अभिनन्दित गरिने कार्यक्रम रहेके छ। सरकारी सेवामा रहेका लगनशील एवम् कर्तव्यनिष्ठ कर्मचारीहरू, भूतपूर्व सैनिक एवम् सर्वश्रेष्ठ शिक्षकगणलाई उनीहरूको योगदानको उच्च कदर गर्दै सम्मानित गरिनेछ।
समितिकी अध्यक्षले सबैबाट सकारात्मक सहयोगको अपेक्षा राखेको समितिका सक्रिय सदस्य डीके विश्वकर्माद्वारा प्रेषित एउटा विज्ञप्तिमा उल्लेख छ।