गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आज राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको उपस्थितिमा सारथी सम्मान दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा विभिन्न विभागका मन्त्रीगण,विधायकगण र मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्ष २०२२ मा गृह विभागद्वारा जारी अधिसूचना अनुसार २७ जुलाईलाई सारथी सम्मान दिवसको रूपमा पालन गर्ने निर्णय गरेर सिक्किम सरकारले एउटा इतिहास कायम गरेको बताए। एसकेएम पार्टीको सरकार भन्दा अघिको सरकारमा सारथीहरूको कति इज्जत र सम्मान कतिसम्म थियो त्यो सबैलाई थाहा भएको जानकारी गराए। पूर्व सरकारकालमा सारथीहरूको काउन्टर खोसेर आफ्नो मनपर्दो व्यक्तिलाई दिएको दावी गरे तर एसकेएम पार्टी सरकारमा आउनसाथ उक्त काउन्टरहरू चालकहरूलाई नै सञ्चालनको निम्ति दिएको जानकारी गराए। गाउँदेखि राज्य अनि देशलाई अघि बढ़ाउनका निम्ति सारथीहरूको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ। सारथीहरूले पनि शिर उठाएर जिउन सक्नुपर्छ भन्ने उद्देश्यले एसकेएम सरकारले २७ जुलाईलाई सारथी सम्मान दिवस पालन गर्ने निर्णय गरेको हो मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा अवगत गराए। २७ जुलाईलाई सिक्किममा मात्र होइन देशभरि नै सारथी दिवसको रूपमा पालन गरिनुपर्ने मुख्यमन्त्रीको भनाइ थियो। एसकेएम पार्टीको सरकार भनेको साना, गरीब र निमुखा जनतालाई तान्ने सरकार हो। एसकेएम पार्टी सरकार आएपछि चालकवर्गलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको उनले दावी गरे। विशेष गरेर सरकारी अधिकारीहरूको चालकवर्गलाई हेर्ने दृष्टिकोणमा धेरै मात्रमा परिवर्तन आएको मुख्यमन्त्री स्वयले पनि महससु गरेको जानकारी गराए।
वर्तमान परिपेक्ष्यमा राज्यका सरकारी अधिकारीहरूले पनि चालकवर्गलाई सम्मान दिएको कुरा चालकहरूले महसुस गरेको बताए। सुनौलो अनि समृद्ध सिक्किम निर्माणको बाटोमा गुरुजी-चालकहरूको विशेष भूमिका रहने मुख्यमन्त्रीले जानकारी गराए। यसर्थ सारथीहरूलाई समाजको एक अभिन्न अङग्को रूपमा चिनिने गरेको उनले बताए। देशको कुनै पनि राज्यमा सारथीहरूलाई यसरी सम्मान जनाउने कार्य अहिलेसम्म नभएको किटान गरे। एसकेएम पार्टीको दोस्रो जितको श्रेय उनले राज्यका चालकवर्गलाई दिए। एसकेएम पार्टीलाई दोस्रो पल्ट सरकारमा ल्याउनको निम्ति चालकवर्गको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा महत्वपूर्ण भूमिका रहेको पनि उनले अवगत गराए।
एसकेएम पार्टी सरकार रहेसम्म गुरुजीहरूले कुनै प्रकारको दुःख नपाउने बताउँदै कुनै दुःख कष्ट आइपरेको खण्डमा चालकवर्गले सरकारबाट सहयोग प्राप्त गर्नसक्ने उनले भरोसा दिलाए। एसकेएम सरकारको पहिलो कार्यकालमा धेरै जनोपयोगी योजनाहरू लागू गरेर त्यसमाथि काम भइरहेको मुख्यमन्त्रीले किटान गरे।
विशेष गरेर चालकहरूद्वारा राखिएको मागलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पोल्युषण अन्डर कण्ट्रोल (पीयुसी) को जरिमाना अबदेखि १० हजारको सट्टा केवल ५ सय रूपियाँ मात्र तिर्नु पर्ने घोषणा गरे। यदि १५ दिनभित्रमा पीयूसी नदिएको खण्डमा १० हजार रुपियाँ नै तिर्नुपर्ने जानकारी गराए। चालकवर्गको हितमा घोषणा गर्ने क्रममा मुखअयमन्त्री तामाङले राज्यका सम्पूर्ण चालकहरूलाई स्वास्थ्य बीमा र जीवन विमा गर्ने बताए। सिक्किमको भोटर्स कार्ड हुनेहरूले अबदेखि लक्जरी वाहन चलाउन पाउने अनुमति दिइने मुख्यमन्त्री घोषणा गरे। अब चाँड़ै पश्चिम बङ्गाल सरकारसँग एक समझौता गरी ट्रान्सपोर्टको कोटा बढ़ाउने अवगत गराए। गुरुजीको व्यवसाय गरिखानेहरूलाई मुख्यमन्त्री कोषबाट एकसय जना गुरूजीहरूलाई डाउन पेमेन्टको रूपमा दिएर ट्याक्सी वाहन प्रदान गर्ने घोषणा गरे। सम्पूर्ण विभाग अन्तर्गत कल्याण बोर्डहरूको निम्ति १ करोड़को बजेट छुट्याएर कल्याण बोर्डलाई काम गर्न सहजता उपलब्ध गारउने मुख्यमन्त्रीले आश्वासन दिएका छन्।