गान्तोक: नाम्ची जिल्लामा पर्यटन उद्योग विकासलाई लिएर सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले आज नाम्चीमा एक उच्चस्तरीय बैठक सम्पन्न भयो। दक्षिण जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमको मुख्य आतिथ्यमा सम्पन्न बैठकमा पर्यटन पूर्वाधारमाथि छलफल गरियो। बैठकमा बोल्दै राजालिमले नाम्ची जिल्लामा पर्यटनको सम्भावनाबारे उल्लेख गर्दै जिल्लामा धेरै पर्यटकीय गन्तव्यहरु रहेको र यसलाई थप सुन्दरीकरणको दिशामा काम गर्नुपर्ने बताइन्। पर्यटन पूर्वाधारमा धेरै काम हुन नसकेकाले त्यसको सदुपयोग गर्न विभागका अधिकारीलाई आग्रह गरिन्। उनले पर्यटकीय गन्तव्यमा रहेका कियाफेटेरियाहरु सञ्चालनका लागि स्थानीय बेरोजगार युवाहरुलाई अवसर दिएर लाभान्वित गर्न सक्ने बताइन्। विभागीय प्रधान सचिव सीएस रावले नाम्ची जिल्लामा पर्यटन प्रवर्द्धनका लागि भइरहेको पहलहरूबारेमा जानकारी दिए। जिल्लाको पर्यटन प्रवद्र्धन गर्न मुख्यमन्त्रीको आग्रहमा बैठक आयोजना गरिएको उनले बताए। उनले नाम्ची जिल्लाबाट ५० वटा नाथुला पास उपलब्ध हुने र जिल्ला पर्यटन कार्यालयले छिट्टै विदेशी पर्यटकलाई पनि आवश्यक अनुमति दिने बताए। प्रधान सचिव रावको भनाइनुसार सरोकारवालाहरुले अन्य राज्यका पर्यटकीय गन्तव्यको तुलनामा मूल्य निर्धारण गर्नुपर्छ साथै। जिल्ला पर्यटन सूचना केन्द्रमा सबै मौसमका लागि तोकिएको रेटचार्ट बुझाउन आग्रह गरे। उनले पर्यटन क्षेत्रमा ‘क्लस्टर विकास कार्यक्रम योजनाबारे जानकारी दिँदै क्षमता विकासमा पनि विभागको ध्यान रहेको बताए। उनले नाम्ची रोपवेलाई छिट्टै खोल्ने घोषणा पनि गरे। उनले पर्यटन क्षेत्रमा संलग्न सबै सरोकारवाला संघसंस्थाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै पर्यटन विकासका लागि विभागले सक्दो सहयोग गर्ने आश्वासन दिए। यसबीच नाम्ची नगर पञ्चायतका अध्यक्ष गणेश राईले पनि सम्बोधन गरे। जिल्लापाल अनुपा ताम्लिङले आफ्नो सम्बोधनमा नाम्चीको प्राकृतिक सौन्दर्यको सदुपयोग गर्दै पर्यटन क्षेत्रमा कार्य गर्न सरोकारवाला र जिल्ला अधिकारीहरूबीचको सहकार्यको महत्त्वलाई जोड दिइन्। बैठकमा जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि अन्तरक्रिया भएको थियो जसमा अधिकारीहरुले उत्पन्न जिज्ञासाहरुको जवाफ दिए।