दार्जीलिङ: गौरवशाली इतिहास बोकेको प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०७औं संस्करण शुक्रवारदेखि शुरु भयो। दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा शुरु यस प्रतिष्ठित टुर्नामेण्टको उद्घाटन म्याचमा जीत हासिल गरी कालेबुङको हिमालश्री एथलेटिक क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको यस म्याचमा हिमालश्री एथलेटिक क्लबले २/११ गोर्खा राइफल्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बसन्त राईले ३८औं, सोनम शेर्पाले ७२औं र रेसब तामाङले ८८औं मिनटमा गोल गरे। शनिवार दुईवटा म्याच खेलिनेछ। दिउँसो १२ बजीदेखि शुरु हुने म्याचमा हर्सिंग फूटबल क्लब (लेबोंग) र भाह तकभर फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच सेण्ट जोसेफ्स कलेज र संकटा फूटबल क्लबबीच खेलिनेछ। टुर्नामेण्टमा जम्मा १७ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ।