दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिरमूर बोइजले क्वार्टर फाइनलमा स्थान बनायो। दुधे फूटबल मैदानमा बिहीवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा सिरमूर बोइजले लाली गुराँस फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल आशुतोष राणाले ५८औं मिनटमा गरे। म्याचमा रेफरीको भूमिका मनदीप रिजालले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा अविनाश राई र युगल खवास थिए जबकि रुस्तम प्रधान फोर्थ अफिसियल रहेका थिए। अब शुक्रवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा १४ इञ्जीनियर र मतिगड़ा फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।