घरमै बोलाएर युवकको हत्या

IMG-20240801-WA0010

५ वर्ष जेल बसेर छुटेपछि फेरि अपराध

झापा: मुद्दामा जेल परेका र कैद माफी मिनाहा पाएर छुटेका एक व्यक्तिबाट मोरङमा फेरि अर्को हत्या भएको छ। मंगलबार राति मोरङ उर्लाबारीका २४ वर्षीय कुशल दाहालको हत्या आरोपमा उर्लाबारी नगरपालिका–५ का ३५ वर्षीय सुवास तामाङ पक्राउ परेका छन्। उर्लाबारी ४ का दाहाललाई आफ्नै घरमा लगेर तामाङले छुरा प्रहार गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी एसपी नवराज कार्कीका अनुसार २३ सितम्बर २०१४ मा साथीको हत्या गरेपछि पक्राउ परेका तामाङलाई १० वर्ष कैद सजाय तोकिएको थियो। तर उनी २०१९ सालको गणतन्त्र दिवशमा छुटेका थिए। त्यसको एक वर्ष नबित्दै उनी ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परे । २३ अगस्त २०२० मा उनलाई जिल्ला अदालत मोरङबाट दुई वर्ष ६ महिना कैद सजाय भयो। सो वर्ष ब्राउन सुगर कारोबारको कसुरमा तीन महिना कैद सजाय भएको थियो। ब्राउन सुगरको फैसला हुँदा उनी ज्यान मार्ने उद्योगको मुद्दामा सजाय काटिरहेका थिए। सजय भुक्तानपछि छुटेका उनी ११ सितम्बर २०२३ मा जिल्ला अदालतको आदेशपछि धरौटी बुझाउन नसकेर कारागार चलान भए। भोलिपल्ट एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। मंगलबार आफ्नै घरमा आएका कुशलको हत्यापछि फरार भएका उनी बुधबार दिउँसो पक्राउ परेको प्रहरी उपरीक्षक कार्कीले बताए। दाहालको मंगलबार साँझ हत्यापछि फरार तामाङलाई बस चढेर भाग्दै गर्दा मोरंग जिल्ला सुन्दरहरैंचा नगरपालिका–४ दुलारीबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ। तामाङले अन्य युवाहरुको सहयोग लिएर दाहाल र उर्लाबारी–४ कै ३१ वर्षीय सञ्जय आचार्यलाई साँझ ६ बजेतिर आफ्नो घरमा लगेका थिए ।उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिक रहेको घरमा उनी एक्लै बस्थे। घरमा पुगेपछि मोबाइल चोरेको आरोपमा आक्रमण गर्दै छुरा प्रहार गरेका थिए । प्रहरीले तामाङसँगै रहेका अन्य स्थानीय युवाहरुको पनि खोजी गरिरहेको छ। तामाङको आक्रमणबाट गम्भीर घाइते भएका दाहाललाई आचार्यले नै सीटी सफारीमा राखेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याएका थिए। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापा बिर्तामोडको बीएन्डसी अस्पताल लगियो। बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो। पटके अपराधीज्यान मुद्दामा दोषी ठहर भएर कैद भुक्तान गरेपछि छुटेका तामाङ पटक पटक अपराधिक घटनामा संलग्न भएका छन्। २२ सितम्बर २०१४ मा उनले आफ्नै घर अगाडि उर्लाबारी–२ का नवीन राईको हत्या गरेका थिए। सो मुद्दामा जिल्ला अदालत मोरङले तामाङलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर तत्कालीन जिल्ला न्यायाधीश ऋषिराम निरौलाको इजलासले ३ जनबरी २०१४ मा गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाइदियो। उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश कुमारप्रसाद पोखरेल र शिवराज अधिकारीको संयुक्त इजलासले २ अगस्त २०१६ मा तामाङलाई १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो। २० अप्रिल २०१८ मा सर्वाेच्चले उच्चको फैसला सदर गरेको थियो ।जिल्लाको फैसला उल्टिएर तीन तहको अदालतबाट मुद्दा किनारा लागेपछि २०१९ सालमा गणतन्त्र दिवशमा उनले आधा सजाय (पाँच वर्ष) माफी मिनाहा पाएर छुटेका थिए। त्यसपछि पनि उनी पटक पटकको घटनामा पक्राउ परेका प्रहरीले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement