गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठसॅंग भेट गरे। सांसद सुब्बाले केन्द्रिय राज्यमन्त्री समक्ष भारत-चीन सीमालाई जोड्ने उत्तर सिक्किमको सड़क मार्गको तत्काल मरम्मति र पुनर्निर्माणको निम्ति अनुरोध गरेका छन्।
सांसद सुब्बाले उत्तर सिक्किममा राष्ट्रिय राजमार्ग ३१०ए को सोचनीय अवस्थाबारे केन्द्रिय राज्यमन्त्रीलाई जानकारी गराउॅंदै ज्ञापन पत्र सुम्पएको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले गत वर्ष अक्टोबर महिनामा टिस्टामा आएको भलबाढीले पूर्वाधारलाई व्यापक क्षति पुऱ्याएको अवगत गराउॅंदै यसले स्थानीय मानिसहरूका साथै राष्ट्रिय सुरक्षालाई पनि प्रभाव पर्ने अवगत गराए।
सांसद सुब्बाले उक्त महत्वपूर्ण सड़क मार्गहरूको मरम्मति र पुनर्निर्माणका लागि केन्द्रिय राज्यमन्त्रीलाई तत्काल हस्तक्षेपको निम्ति अनुरोध गरे। उनले विनाशकारी बाढीले राज्यका सड़क मार्गहरूलाई व्यापक क्षति पुऱ्याएकाले सम्पर्क एवं यातायात गम्भीर रूपमा प्रभावित बनेको बताए। उनले गत वर्षको बाढीले अत्यधिक क्षति पुऱ्याएको नागा गाउॅंको बारेमा पनि केन्द्रय राज्यमन्त्रीलाई अवगत गराए।
केन्द्रिय राज्यमन्त्रीले समस्या समाधानका लागि आफ्नो तर्फबाट हर सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएको विज्ञप्तिमा जनाएको छ। उनले राज्यमा शान्ति कायम राखेर राष्ट्रिय सुरक्षालाई बल प्रदान गर्ने सिक्किमे जनताको सकारात्मक भूमिकाको सराहना गरेको बताइएको छ।