गान्तोक: वरिष्ट राजनीतिज्ञ एवं राजस्थानका पूर्व राज्यसभा सांसद ओम प्रकाश माथुरले सिक्किम राज्यको १६औं राज्यपालको रुपमा शपथ ग्रहण गरे। आज राजभवनमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायधीश विश्वनाथ सोमादारले उनलाई शपथ ग्रहण गराए। कार्यक्रममा मुख्यमन्त्री प्रेम सिहं तामाङको पनि विशेष उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गत २७ जुलाईको दिन देशकी राष्ट्रपति श्रीमती द्रोपद्वी मुर्मूले ७२ वर्षीय ओम प्रकाश माथुरलाई सिक्किमका राज्यपाल मनोनित गरेकी थिइन्।शपथ ग्रहणको औपचारिकता पछि मुख्यमन्त्री तामाङले राज्यपाल माथुरलाई सिक्किम विधानसभाका अध्यक्ष-उपाध्यक्ष, मन्त्रीमण्डलका सदस्यहरू, विधायकगण, सिक्किम सरकारका शीर्ष अधिकारीहरू साथै नागरिक समाजका प्रतिनिधिहरूसँग परिचय गराए। त्यसपछि राज्यपालले मुख्यमन्त्री प्रेम सिंह तामाङ अनि अन्य अतिथिगणको साथमा राजभवन परिसरमा “एक पेड़ मां के नाम” कार्यक्रमअन्तर्गत विरुवा लगाए भने सिक्किम पुलिसले “गार्ड अफ् अनर” दिए।राज्यपाल ओम प्रकाश माथुरको जन्म १९५२ मा राजस्थानको पाली जिल्लाअन्तर्गत बाली तहसिलको बेदाल गाउँमा भएको थियो। उनले राजस्थान विश्वविद्यालयबाट स्नातकसम्मको पढ़ाई गरेका छन्। त्यसपछि उनी राजनीतिमा लागेका थिए। राष्ट्रिय स्वंयसेवक सङ्घका पूर्व प्रचारक राज्यपाल माथुर राजस्थान भाजपाका अध्यक्ष साथै भाजपाका राष्ट्रिय उपाध्यक्ष पनि रहिसकेका छन् भने २०१६ मा राजस्थानबाट राज्यसभा सांसद पनि बनेका थिए। देशका पूर्व उपराष्ट्रपति तथा वरिष्ट भाजपा नेता भैरव सिंह शेखावतका राजनीतिक विद्यार्थी राज्यपाल माथुरलाई एक कुशल रणनीतिकार मानिन्छ। गत वर्ष छत्तीसगढ़मा भाजपालाई पुनः सत्तामा फर्काइल्याउन उनको ठूलो भूमिका रहेको थियो। त्यस समय उनी त्यहाँका भाजपा राज्य प्रभारी थिए।