खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीको आज गोर्खा जन पुस्तकालय खरसाङमा ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत पाँचवटा समष्टिका प्रतिनिधिवर्ग, ब्राञ्च कमिटीको प्रतिनिधिवर्ग लगायत भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। यसै सभामा गोरामुमो खरसाङ ब्राञ्च कमिटीले पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा जाति र माटोको लागि सरकारलाई चाप सृष्टि गर्नको लागि पार्टीको झण्डा थन्काएर कालो झण्डा लिएर अघि आउने भएको छ। सभामा निमा लामाले आफ्नो वक्तव्य राख्दै भने, २७ जुलाई २०२४ को दिन शहीद दिवसको निम्ति गोर्खाहरु खुशी छैनन् भनी कालो पट्टी लगाएर भारत सरकारलाई दिएको सन्देशलाई स्वागत जनाउँदै अब खरसाङ ब्राञ्च कमिटीले व्यापक रुपमा कालो झण्डा लगाएर भारत सरकारलाई चाप सृष्टि गर्ने कार्यक्रमहरुको थालनी गर्ने जनाएका छन्। केन्द्रमा रहेको बीजेपी सरकारलाई मुद्दाको निम्ति गोर्खाहरुले सघाएको हो। बीस वर्ष टेक्दा पनि आजको दिनसम्म गोर्खाहरुले न्याय पाएको छैन। गोर्खाहरुलाई राज्य सरकार अनि केन्द्र सरकारले लात्ते भकुण्डो खेलेको जस्तै खेलाइरहेका छन्। गोर्खाहरुले पूर्व सांसद अनि राजु विष्टलाई गोर्खाहरुको मुद्दा फत्ते गर्नको निम्ति भोट दिएर बिजयी बनाएको हो नाला झोडाको निम्ति होइन। सांसद राजु विष्टलाई एउटा पुल बनाएर गोर्खाहरुले लोकसभामा पठाएको हो। यसकारण राजु विष्टले गोर्खाहरुको न्यायको निम्ति कार्य गर्नुपर्छ।’
निमा लामाले अघि भने, “हामीले कालो झण्डा लगाउनुको अर्थ यहाँ अशान्ति सृष्टि गर्नको निम्ति होइन तर गोर्खाहरु खुशी छैनन् भनेर भारत सरकारलाई सन्देश दिनु हो। यसकारण एउटा स्वाभिमानी गोर्खा भएर भारत सरकारलाई गोर्खाहरु खुशी छैनन् भनेर सन्देश दिनको निम्ति प्रत्येक स्वाभिमानी गोर्खाहरुले आफ्नो घरको धुरीमा कालो लगाई दिनुहोस्।’
गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाले यहाँको व्यवस्थाले गोर्खाहरुलाई लाचार बनाएको छ भन्दै गोर्खाहरु दुःखित छन् यसकारण पार्टीले आफ्नो दलीय झण्डालाई पर सारेर कार्य गर्ने छन् भनी बताएका छन्।
अब सम्पूर्ण राजनैतिक दलहरू आ-आफ्नो दलीय झण्डालाई पर सारेर सबै एक सूत्रबद्ध भएर गोर्खा जातिको न्यायको लागि भारत सरकारलाई चाप सृष्टि गर्न अघि आउने निमा लामाले अपिल समेत गरेका छन्।