कालचिनी – डुवर्स डलिवुड नागपुरी/सादरी फिल्म यूनिटको पक्षबाट आज सावित्री धर्मशालामा एउटा अन्तरक्रियात्मक चर्चा कार्यक्रम सम्पन्न गरिएको जानकारी नागपुरी/सादरी फिल्मका अभिनेता तथा निर्देशक अमन नाग उर्फ नाग अमनले दिएका छन्। आज उक्त चर्चा सभामा आदिवासी समाजका सङ्गठक औ बुद्धिजीवीगण प्रकास कुजुर, हरि कुजुर, डा. कमल कुजुर, ओमदास लोहार, ग्रेगोरी तिर्की, सिताराम काँवर, दुर्गन काँवर एवम् नागपुरी/ सादरी फिल्मका कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
सभामा आदिवासी समाज धेरै पछाड़िएको र त्यसमाथि सांस्कृतिक क्षेत्रमा धेरै पछौटे भएकोले सादरी/नागपुरी सिनेमाप्रति जागरुकता गर्ने र सादरी भाषाप्रतिको लगावमा झुकाउन प्रयत्न गर्ने दिशामा डुवर्स डलीवूडले पाइला चाल्ने अभिनेता नाग अमनले जनाएका छन्। चर्चा सभामा अन्य जाति सम्प्रदायबाट राम्रो गुणहरूलाई लिएर आदिवासी समाज अघि बढ़ने आह्वान सबै उपस्थित वक्ताहरूले गरेको थियो भने सरकार समक्ष विनम्रतापूर्वक नागपुरी/ सादरी भाषाको मान्यता, कलासंस्कृति कार्यक्रम गर्न कम्युनिटी हल, नागपुरी/सादरी फिल्ममा सब्सिडी, सादरी नागपुरी सिनेमाको च्यारेटी शो गर्न हल प्रदान, आदिवासी नृत्य कलाकार, पारम्परिक बाद्ययन्त्र बजाउने कलाकार औ फिल्म कलाकारहरूलाई बेकारी भत्ता, सादरी भाषामा सरकारी विज्ञापन प्रचार-प्रसार आदिको दाबी गरिने डुवर्स डलिवुड नागपुरी/सादरी फिल्म यूनिटको पक्षबाट नाग अमनले जनाएका छन्। सादरी/नागपुरी सिनेमालाई आदिवासीले रुचाएर प्रमोट गर्नु पर्ने औ यसबाट उठेका अंशले आदिवासी विद्यार्थीहरूलाई अनुदान दिने लक्ष्य पनि रहेको डुवर्स डलिवुडका कलाकारहरूले जनाएका छन्। आज उक्त चर्चा सभामा आदिवासी नागपुरी /सादरी फिल्मका कलाकारहरू विष्णु महली, गोपाल साहा, हिरालाल झाँ, रोशन राउत, शिवदयाल महली एवम् अन्यान्यको उपस्थिति रहेको थियो।