झापा: कोशी प्रदेशमा एकजना प्रहरी बराबर १ सय ११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ। ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ। यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो।कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्रेशन यूनिटका आधारमा भने एक प्रहरीले ५६४ जना नागरिकको सुरक्षा जिम्मेवारी लिनुपर्ने हुन्छ। कोशीको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ। २५ हजार ९०५ बर्ग किलोमिटर क्षेत्रफल रहेको कोशी प्रदेशभर १० हजार ७१७ प्रहरी दरबन्दी रहेको छ। जसमध्ये पनि हाल कार्यरत १० हजार ३२ जना छन्। प्रहरी र क्षेत्रफलको अनुपात हेर्दा १ जना प्रहरीले २।४२ बर्ग किलोमिटर दुरीको रेखदेख गर्नुपर्ने तथ्यांक छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी एसएसपी भीम दाहालका अनुसार भौगोलिक विकटता र छरिएर बसोबास भएको जनसंख्याका कारण पनि कतिपय अवस्थामा सुरक्षाकर्मी परिचालन गर्न असहज हुने गरेको छ। खासगरी विपद्पछिको उद्धार तथा प्रतिकार्यका लागि पहाडी क्षेत्रका ग्रामिण भू–भागसम्म प्रहरी परिचालन गर्न असहज रहेको छ।