झापा: मोरङ जिल्लाको उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघ छेउको घरमा छुरा प्रहार भएको छ। मंगलबार साँझ करिव ७:२० बजे स्थानिय सुवास लामाले आफ्नै घरमा वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए। प्रहरीकाअनुसार छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो। गोदावरीमा उनको उपचार सम्भव नभएपछि अस्पतालले दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो। लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएको प्रवक्ता बस्नेतले बताए ।प्रहरीकाअनुसार छुरा प्रहारबाट दाहालको पेटमा गम्भिर चोट लागेकोले उनको स्वास्थ्य अवस्था जटिल देखिएको थियो। उनको बि.एण्ड.सी.मा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रवक्ता बस्नेतले बताए ।यता छुरा प्रहर गरि फरार भएका ३५ वर्षिय लामाको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रवक्ता बस्नेतकाअनुसार अपराधिक पृष्ठभुमीका लामा यसअघि करिव ८ वर्ष कैद सजाय भोगेर केहि समयअघि मात्रै रिहाई भएका थिए।