मंगन: जापान इन्टरनेश्नल कोअपरेशन एजेन्सी (जाइका)-का चारजना अधिकारीहरूको टोलीले आज मंगन जिल्लाका विभिन्न आपदा प्रभावित क्षेत्रको भ्रमण गऱ्यो। यस टोलीमा परियोजना प्रमुख कुवानो ताकेशी र परामर्शदाता ताकाशी युआशी, मिहो अकिगुची र सासाकी युका थिए। स्मरण रहोस्, उक्त परियोजना विगत लामो समयदेखि सिक्किममा सञ्चालित छ। मुख्यगरि राज्यको विकासको सामाजिक आर्थिक विकास, आर्थिक स्थिरतालाई सहयोग गर्ने उद्देश्यले एजेन्सीले काम गर्दै आएको छ। टोलीको उद्देश्य राज्यमा पैह्रो, भूकम्प र बाढजस्ता प्रकोपबाट क्षति भएका क्षेत्रहरूको निरीक्षण गर्नु रहेको छ। निरीक्षण पूरा भएपछि राज्य सरकारलाई आवश्यक सुझावहरू प्रदान गर्नेछ। जसले राज्यलाई आपदा र यसको प्रभावहरू व्यवस्थापन गर्न मदत गर्नेछ। जाइका टोलीमा एसएसडीएमएका अतिरिक्त निर्देशक राजीव रोका, एसएसडीएमए सहायक निर्देशक केशव कोइराला, कैलाश थापा मंगन ग्राम विकास अधिकारी, एनडीएमए प्रतिनिधि प्रियङ्का जिन्दल र अर्पण छेत्रीको पनि सहभागिता थियो। टोलीले जिल्लाको माङ्शिला, अम्बीथाङ, लन्ठेखोला र टुङ र नागाको प्रभावित क्षेत्रको भ्रमण गरेको थियो।