गरे सिक्किम राज्यका अनुसूचित जनजातिमाथि चर्चा परिचर्चा
गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रिय जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेसँग भेट गर्दै सिक्किम राज्यका अनुसूचित जनजातिमाथि चर्चा परिचर्चा गरे।
विशेष गरेर उनले लिम्बू तामाङ समुदायले भोग्न परिरहेको समस्या र राज्यका छुटेका १२ जातिलाई जनजातिको सूचीमा अन्तर्भुक्त गरिनुपर्ने विषयमा कुराकानी गरे।
उनले सिक्किम जनसंख्याको आधारमा भारतको सबैभन्दा सानो राज्य मध्ये एक भए तापनि, विविध र सामंजस्यपूर्ण समुदायहरूको धनी रहेको बताए। तीमध्ये लेप्चा, भोटिया, लिम्बू र तामाङलाई अनुसूचित जनजातिको रूपमा मान्यता दिइएको छ। सिक्किम सरकारले यी समुदायहरूको समृद्ध परम्परा र रीतिरिवाजहरूको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राख्दै जनजाति संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न आफ्नो प्रतिबद्धता देखाएको बताएका छन्।
उनले सिक्किम विधानसभामा लिम्बू तामाङ समुदायको सीट आरक्षणको मुद्दा धेरै वर्षदेखि थाँतीमा रहेको पनि अवगत गराए। लिम्बू र तामाङले अनुसूचित जनजातिको मान्यता पाए तापनि यी समुदायले सीट आरक्षण भने पाउन नसकेको उनले जानकारी गराए। यसरी नै राज्यका १२ जातिको रहन सहन जिवन जिउने तरिका जनजातिको जस्तो भए तापनि अहिलेसम्म उनीहरूलाई जनजातिको सूचीमा अन्तर्भक्त नगरिएको बताए। यी समुदायलाई अन्याय भएको साथै उनीहरूको अधिकारबाट वञ्चित गरिएको जानकारी गराए।
उनले यी मुद्दाहरूलाई लोकसभा र राज्यसभामा निरन्तर उठाउने कार्य भइरहेको पनि बताए। सुब्बाले लिम्बू र तामाङ समुदायका लागि सीट आरक्षण र अनुसूचित जनजातिको सूचीमा छोडिएका समुदायलाई समावेश गर्नका लागि मन्त्रीको व्यक्तिगत हस्तक्षेप र समर्थनको लागि अनुरोध गरे।