दार्जिलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चाद्वारा गोरामुमो अध्यक्ष मन घिसिङले लिएको निर्णयलाई स्वागत जनाउँदै अब युवाहरु पनि अघि आएर कार्य गर्ने जनाएका छन्। युवा मोर्चाले पनि कालो झण्डा लगाउनुको अर्थ केवल भारत सरकारप्रति स्वाभिमानी गोर्खाहरु खुशी छैन भनेर जनाउनु हो। बीस वर्षले पाइला टेक्दैछ तर अहिलेसम्म गोर्खाहरुलाई भारत सरकारले न्याय दिएको छैन। यसैको प्रतिवादमा स्वाभिमानी गोर्खाहरुले गोर्खाहरु खुसी छैन भनी आ-आफ्नो घरको धुरीमा कालो झण्डा लगाएर भारत सरकारलाई सन्देश दिनु पर्ने गोर्खा राष्ट्रिय युवा मोर्चाले आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङबाट आफ्नो विज्ञप्ति जारी गर्दै अपिल गरेका छन्।यसै क्रममा आज गोरामुमो केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष मन घिसिङद्वारा गोरायुमो केन्द्रीय समिति, गोरायुमो ब्राञ्च कमिटीका प्रतिनिधिवर्गलाई आउँदो दिनहरुमा युवाहरुले के कस्तो भूमिका निभाउनु पर्ने बारेमा निर्देशन दिएका छन्। अब गोरायुमोले अध्यक्ष मन घिसिङको निर्देशनमा जाति र माटोको उन्मुक्तिको लडाईमा पार्टीको झण्डा अनि आ-आफ्नो पदलाई पन्साएर स्वाभिमानी गोर्खाको रुपमा आ-आफ्नो योगदान दिने जनाएका छन्।