जबसम्म बीजेपी छ तबसम्म गोर्खाले केही पाउनेवाला छैन अनि पहाड कहिले बन्द हुने छैन: अनित थापा

IMG-20240730-WA0217

दार्जिलिङ: जबसम्म बीजेपी छ तबसम्म गोर्खाले केही पाउनेवाला छैन अनि पहाड कहिले बन्द हुने छैन भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘अहिले उठिरहेको उत्तर बंगालको मुद्दाले गोर्खालाई कुनै फाइदा दिँदैन। गोर्खाको आफ्नै मुद्दा छ। उत्तर बंगालको मुद्दा लिएर पहाडमा फेरि अशान्ति फैलाउन खोज्दैछ। बीजेपीलाई गोर्खाले १५ वर्ष सहयाेग गरेर पनि हामीलाई अझ पनि ढाँट्नु खोज्दैछ।’
उनले अघि भने, ‘सरकार बीजेपीको छ। बीजेपीकै सांसदले आफ्नो सरकारलाई माग्दैछ। दिने सरकारलाई घरि घरि मागिरहनु पर्दैन। पहाडमा षड्यन्त्र गरेर बीजेपीले १५ वर्ष बिताई सक्यो। तर अझसम्म केही दिएको छैन। जबसम्म बीजेपी छ तबसम्म गोर्खाले केही पाउनेवाला छैन।
गोर्खाले बीजेपीको सरकारबाट केही आशा नगरे पनि हुन्छ। हामी बीजेपीको निम्ति भोट ब्याङ्क मात्र हौं।’
अनित थापाले अझ भने, ‘२०१७ देखि हामीले धेरै सङ्घर्ष गरेर पहाडमा शान्ति फर्काई ल्याएका छौं। कसैसँग डराउनु नपर्ने वातावरण सृजना गरेका छौँ। जबसम्म हामी छौं। पहाड बन्द हुनेछैन्।”
जीटीए प्रमुख अनित थापाले आफ्नो प्रेस विज्ञप्तिमा भनेका छन्- ‘गोर्खा जातिको मांग राख्नुपर्छ। तर मांगको आडमा पहाडमा आतंकको परिवेश सृजना गर्ने षड्यन्त्र चल्दैछ। पहाडलाई फेरि जलाउने, झमेलामा लाने, फेरि पहाडमा शहीद बनाउने षड्यन्त्र चलेको देख्दैछु। उत्तर बङ्गालको मुद्दाले गोर्खालाई कुनै फाइदा पनि हुनेछैन। बीजेपीले यत्रो वर्षसम्म त केही दिएको छैन भने भविष्यमा के दिन्छ होला? अब गोर्खा झुक्किनु हुँदैन।’
उनले भनेका छन् -‘बीजेपीले मुद्दा नपाएर पहाडमा अशान्ति फैलाउनु मात्र खोज्दैछ। उत्तर बङ्गाल हाम्रो आकाङ्क्षा र इच्छा होइन। गोर्खाको आफ्नै मुद्दा छ। हाम्रो आफ्नै आकाङ्क्षा छ। एउटा बीजेपी नेताले उत्तर बङ्गालको कुरा गर्दैछ। बङ्गाल बीजेपीकै अर्का नेता शुभेन्दु अधिकारीले बंगाल कहिले विभाजन हुँदैन भने। अझ पनि बीजेपीले गोर्खालाई लाटा अनि मूर्ख सोच्छ? हामी सचेत रहनुपर्छ। सहिद दिवसमा पनि सहिदको नाममा पहाड बन्द गर्ने प्रयास भयो। सुवास घिसिङको समयदेखि लिएर विमल गुरूङको समयसम्ममा पनि सहिद दिवसको दिन सहिदलाई सम्झना गर्दै श्रदाञ्जली अर्पण गरियो तर कुनै दिवसमा पनि बन्दकाे आह्वान् गरिएन। हाम्रो समयमा पनि बन्द भएको छैन् अनि हुँदैन पनि। सहिदको नाममा जनतालाई दुःख दिने अनि आतंकित बनाउनु हुँदैन। सहिदलाई श्रदाञ्जली अरूलाई नोक्सान पुर्याएर हुँदैन।
हामी ध्वंस गर्न तर्फ होइन निर्माण गर्न तर्फ लाग्नु पर्छ।’
थापाले सबैलाई अपिल गर्दै भने, ‘म सबैलाई अपिल गर्छु कि पहाड कहिले अशान्ति हुनु हुँदैन। पहाड कहिले बन्द हुनु हुँदैन। म पहाड बन्दको पक्षमा छुइन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement