रोहन बोपन्नाद्वारा टेनिसबाट सन्न्यासको घोषणा

IMG-20240730-WA0144

पेरिस: अनुभवी भारतीय टेनिस खेलाड़ी रोहन बोपन्नाले पेरिस ओलम्पिकको पुरुष युगलको पहिलो राउण्डमै हारको सम्मुखीन भएपछि सन्न्यासको घोषणा गरेका छन्। उनले सोशल मीडियामा भारतको निम्ति आफ्नो अन्तिम म्याच खेलिसकेको बताएका छन्। बोपन्ना देशको निम्ति आफ्नो करियरको अन्त असल तरिकाले गर्न चाहन्थे तर आफ्नो २२ सालको करियरमा एकाधिक असाधारण सफलता हासिल गरेकोमा उनलाई गर्व छ। पेरिस ओलम्पिकमा बोपन्नाले एन श्रीराम बालाजीसँग जोड़ी बनाएका थिए तर भारतीय जोड़ीले पहिलो राउण्डमै एडवर्ड रोजर वेसलिन र गेन मोनफिल्सको फ्रान्सीसी जोड़ीविरुद्ध ५-७, २-६-ले हारको सामना गर्नु परेको थियो। बोपन्ना-बालाजीको हारसँगै भारतको टेनिसमा अभियान पनि समाप्त भएको थियो। यसअघि पुरुष एकलमा सुमित नागल पनि पहिलो राउण्डमै पराजित भएका थिए।
पुरुष युगलको म्याचमा हारपछि बोपन्नाले सन्न्यासको घोषणा गरे। उनले भने, यो निश्चित रूपले देशको निम्ति मेरो अन्तिम इभेण्ट हुनेछ। म अहिले कहाँ छु भन्ने मलाई राम्ररी थाहा छ अनि यो सब चलिञ्जेल म टेनिस सर्किटको आनन्द लिइरहनेछु। अहिले म जहाँ छु, त्यो नै मेरो निम्ति ठूलो बोनस हो। दुई दशकसम्म भारतको प्रतिनिधित्व गर्ने कहिले सोचेको थिइनँ। २००२-मा आफ्नो पदार्पणपछि मैले २२ सालसम्म भारतको प्रतिनिधित्व गर्ने मौका पाए। यसमाथि मलाई गर्व छ।
बोपन्ना र बालाजीको जोड़ी हार्नको साथै ओलम्पिक टेनिसमा १९९६ पछि भारतको पदकको खड़ेरी कायम रह्यो। यसअघि अन्तिमपल्ट लिएण्डर पेसले बार्सिलोनामा पुरुष एकलमा काँस्य पदक जितेका थिए। त्यसपछि २०१६-मा बोपन्ना पदक जित्ने नजिक पुगेका थिए तर मिश्रित युगल स्पर्धामा उनी र सानिया मिर्जाको जोड़ी चौथो स्थानमा रहेको थियो। बोपन्ना २०२६-को एशियन गेम्सबाट पनि बाहिर रहनेछ। यसरी उनले अगावै डेविस कपबाट सन्न्यासको घोषणा गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement