खरसाङ: आईडीसीसी कमिटी १३- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा भएको पहिलो म्याचमा किर्ने एफसी-ले सुम्बुक फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। किर्ने एफसी-को टीम प्री-क्वार्टर फाइनलमा पुग्यो। यसरी दोस्रो म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले खरसाङको मिक्स्ड अप् बोइजलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुशिल लामा र एनोस राईले गोल गरे। सुशिललाई प्लेयर अव् द म्याच चयन गरियो। म्याचमा मुख्य अतिथिको रूपमा कला राई (एमएलए, बुर्तुक गान्तोक) उपस्थित थिइन्। मंगलवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) र दार्जीलिङको संकटा फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ।

यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।