गान्तोक: दक्षिण सिक्किमको आदर्श गाउँलाई पूर्व सिक्किमको सिङ्गताम बजारसित जोड़ने पुलको निर्माणकार्य आगामी १५ अगस्तसम्म पुरा हुने बताइएको छ। आज सिक्किम सरकारका सड़क एवं पुल मन्त्री एनबी दाहालले निर्माणकार्यको स्थलगत भ्रमण गरेपछि यस्तो प्रतिवद्धता जाहेर गरेका हुन्। हाल पुलको निर्माणकार्य युद्धस्तरमा चलिरहेको छ। उल्लेखनीय छ, गत वर्ष 4 अगस्तको एकाबिहानै टिस्टा नदीमा आएको बाड़ले यहाँको इन्द्रेनी पुलको नामले चिनिने फालमको पुललाई बगाएर लगेको थियो।सिङ्गताम खामदोङ क्षेत्रका विधायक पनि रहेका मन्त्री एमबी दाहालले गत विधानसभा चुनाउको समय यस पुललाई एक सय दिनभित्रमा निर्माण गर्ने वचन दिएका थिए। अहिले सम्बन्धित विभागका नै मन्त्री बनेका उनले पुलको निर्माणकार्यलाई प्राथमिकता दिएर अघि बड़ाइरहेका छन्। यसै क्रममा उनी आज निर्माणकार्यको जायजा लिन सिङ्गताम पुगेका थिए। मन्त्रीले निर्माणकार्यका सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्दै गुणवत्तालाई कायम राख्दै निर्माणकार्य समयमा पुरा गर्ने कुरामा जोर दिए।टिस्टा नदी पारि तिमी तार्कु निर्वाचन क्षेत्रअन्तर्गत पर्ने आदर्श गाउँ र वारी गान्तोक जिल्लाअन्तर्गत सिङ्गताम बजारबीच मानिसहरूको आवागमनलाई सहज गर्ने उद्देश्यले पुलको निर्माणकार्यलाई युद्धास्तरमा अघि बड़ाउने काम भइरहेको मन्त्री दाहालले बताए।