गान्तोक: सिक्किमका विदायी राज्यपाल लक्ष्मण प्रसाद आचार्यका लागि आज नयाँ राजभवनमा एउटा विदायी कार्यक्रमको आयोजना गरिएको थियो| राजभवन सचिवालयले आयोजना गरेको छोटो विदायी कार्यक्रममा त्यहाँका अधिकारी अनि कर्मचारीहरूले राज्यपाल लक्षमण प्रसाद आचार्यप्रति सद्भाव प्रकट गर्दै उनको आगामी कार्यकालका लागि शुभकामना दिएका थिए| राज भवनका सचिव जेडी भुटियाले आफ्नो राज्यपालको नजिकमा रहेर काम गर्ने अवसर पाउँदा धेरै कुराहरू सिक्न पाएको बताउँदै सिक्किम र सिक्किमे जनतासँग नजिक रहेर काम गर्ने राज्यपाल आचार्यको कार्यशैलीको सिक्किमवासीले सदैव सम्झना गर्ने विचार व्यक्त गरेका थिए| उनले सिक्किमका लागि भूमिपुत्रजस्तै भएर काम गर्ने राज्यपालको जनमुखी आचरण, व्यवहारकुशलता र शालीनताका लागि सिक्किमवासीहरूको पक्षमा आभार पनि व्यक्त गरेका थिए| उनले राज्यपालको सफल कार्यकालका लागि शुभकामना पनि दिए| राज्यपालका अतिरिक्त सचिव खेमराज भट्टराईले आफ्नो स्वागत सम्बोधनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यको कार्यकालमा राजभवन सचिवालयको पक्षबाट उनलाई सम्मानजनक विदायीसँगै आगामी कार्यकालको सफलताको शुभेच्छा व्यक्त गरेका थिए| राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किमबाट असमको नयाँ राज्यपालका रूपमा जाँदैछन् भने उनलाई मणिपुरको राज्यपालको अतिरिक्त पदभार पनि दिइएको छ| उनको स्थानमा ओमप्रकाश माथुर नयाँ राज्यपालका रूपमा सिक्किम आइरहेका छन्।