लङभ्यू बगान प्रबन्धक अनि एचपीईयु प्रतिनिधिहरूमाझ बैठक सम्पन्न

IMG-20240729-WA0271

खरसाङ: हिल प्लान्टेसन्स एम्प्लोइज युनियनको नवगठित लङभ्यू चिया बगान युनिटका प्रतिनिधिहरू आज बगान प्रबन्धकको कार्यालय पुगे। उक्त टोलीमा युनियनको युनिट अध्यक्ष लक्ष्मी छेत्री, उपाध्यक्ष सङ्गीता प्रधान, सचिव सङ्गीता छेत्री, सहसचिव सजिना योञ्जन, कोषाध्यक्ष नवीन लामा लगायत कार्यकारी सदस्यहरू रहेका थिए। युनियनको केन्द्रीय समितिबाट सहसचिव सुमेन्द्र तामाङ अनि उपाध्यक्ष छेवाङ योञ्जन उपस्थित थिए। गत २८ जुलाईको दिन लङभ्यू चिया बगानका श्रमिकहरूले एउटा साधारण सभाको आयोजना गरी एचपीईयुको युनिट कमिटी गठन गर्ने निर्णय लिएको थियो। सोही निर्णय अनुसार उक्त बगानमा १७ जना कार्यकारी सदस्यहरूको एउटा युनिट कमिटी गठन भएको छ। बगानमा युनिट गठन लगत्तै नवगठित प्रतिनिधिहरूले यूनिट गठनबारे सूचित गर्न र श्रमिकहरूको वर्तमान समस्याबारे छलफल गर्न प्रबन्धकलाई भेट्ने निर्णय लिए।

लङभ्यू चिया बगानमा हाल कम्पनीले नियमित रूपमा ज्याला दिएको छैन। काम गरे तापनि निर्धारित समयमा ज्याला नपाउँदा श्रमिकहरू निराश छन्। यसैमाथि बोनस, एरियर, पीएफ जस्ता सहुलियतहरूबारे पनि कम्पनीले हेलचेक्र्याइँ गरिरहेको छ। यी विषयहरूमाथि गहन चर्चा गर्दै आज युनियन प्रतिनिधिहरूको टोलीले प्रबन्धकलाई चार बुँदे माग पत्र पेश गरे। उक्त माग पत्रमा युनियनले उल्लेख गरेका मागहरू यस प्रकार छन्:

‘’(१) श्रम आयुक्तालयले ३/८/२०२३ को दिन जारी गरेको मेमोरन्डम (मेमो नम्बर-७९/एमआईएससी-२१/२३ सीओ-भीईडी/एलसी) अनुसार लङभ्यू चिया बगानको व्यवस्थापनले उक्त आदेशको पालना गर्नुपर्नेछ र १/६/२०२३ देखि लागू भएको ज्याला बढोत्तरीको बकाया राशि अगस्त २०२४ सम्ममा भुक्तान गर्नुपर्छ। २०२ देखि २३२ रुपियाँसम्मको ज्याला वृद्धिको बकाया राशि (१४ जून २०२२ को अधिसूचना) हालसम्म पनि पूर्ण रूपमा भुक्तानी भएको छैन। बगान प्रबन्धक पक्षले श्रम आयुक्तालयको कानुन र आदेशको पालना गर्नुपर्छ र सम्पूर्ण बकाया राशि अगस्त २०२४ भित्र भुक्तानी गर्नुपर्छ। र गर्न असफल भएमा चिया बगानलाई सुचारु र उचित ढङ्गले सञ्चालन गर्न नसक्दा त्यसको पूर्ण जिम्मेवारी चिया बगान मालिक र व्यवस्थापनले लिनुपर्छ ।

(२) यस बगानका श्रमिकहरूलाई विगत वर्ष (२०२३) वार्षिक १९% दरले बोनस पूर्ण रूपमा भुक्तानी भएको छैन। यो सरकारी आदेशको प्रत्यक्ष उल्लंघन हो र त्यसैले यो व्यवस्थापन तथा मालिकको पक्षबाट अवैध गतिविधि नै हो। यस देशको चिया उद्योगमा काम गर्ने प्रत्येक चिया बगान मजदुरको अपरिहार्य अधिकार भएकाले गत वर्षको बक्यौता बोनस यस बगानका श्रमिक-कर्मचारीलाई अहिले नै पूरा गर्नुपर्छ। स्मरण रहोस्– यस बगानका बिघा मजदुर र स्टाफ, सब-स्टाफहरूलाई गत वर्षको बोनसको 9 प्रतिशत रकम आजसम्म भुक्तानी गरिएको छैन। व्यवस्थापनले कानुनको पालना गरी २०२३ को बाँकी बोनस १५ अगस्त २०२४ भित्र भुक्तानी गर्नुपर्छ।

(३) लङभ्यू चिया बगान व्यवस्थापनले दुई पन्ध्रको दैनिक ज्याला दिएको छैन। व्यवस्थापनले आज अर्थात् २९ जुलाई २०२४ कै दिन सबै बकाया ज्यालाको राशि भुक्तान गर्नुपर्छ।‘’

यी मागहरूबारे चर्चा गर्दै श्रमिक प्रतिनिधिहरूले प्रबन्धक एपी सिंह प्रति गुनासो व्यक्त गरे। यदि प्रबन्धकले यी मुद्दाहरूमा कुनै प्रकारको पहल गर्न सक्दैनन् भने आफूहरू सोझै मालिकसँग बैठक गर्ने श्रमिक प्रतिनिधिहरूको भनाइ थियो। लामो चर्काचर्कीपछि प्रबन्धक ए पी सिंहले श्रमिकहरूको बकाया ज्याला यसै हप्ताभित्र दिने लिखित आश्वासन दिए। लिखित बयानमा उनले स्टाफ, सब-स्टाफ अनि बिघा श्रमिकहरूको बाँकी बोनस अगस्ट महिनाभित्र भुक्तान गर्ने भएको छ भने स्टाफ, सब-स्टाफहरूको मई महिनाको वेतन पनि अअगस्त महिनामा नै क्लियर गर्ने आश्वासन दिए। लङभ्यूको तीन नम्बर डिभिजनको रहल श्रमिकहरूको बाँकी बोनस २९ जुलाईमै भुक्तान गर्ने आजको मिटिङले पारित गरेको छ। यता बकाया एरियरको विषय जटिल रहेको कारण यसबारे उनले कम्पनी मालिकसँग कुरा गरेर आगामी अगस्ट महिनाभित्र समाधानको मार्ग प्रशस्त गर्ने लिखित आश्वासन दिएका छन्। कम्पनीबाट सकारात्मक कदम देखिएन भने लङभ्यू बगानका मजदुर-कर्मचारीसित छलफल गरेर आगामीको बाटो तय गरिनेछ भनेर एचपीईयुको केन्द्रीय नेतृत्वहरूले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement