इटालीमा सम्पन्न वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा भाग लिएर फर्किए खरसाङका अन्तरार्ष्ट्रीय टेबल टेनिस खेलाड़ी गौतमकुमार छेत्री

IMG-20240729-WA0179

खरसाङ: इटालीको रोममा सम्पन्न वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा भाग लिएर फर्किए खरसाङका अन्तरार्ष्ट्रीय टेबल टेनिस खेलाड़ी गौतमकुमार छेत्री। उनले अन्तरार्ष्ट्रीय टेबल टेनिस फेडेरेसन (आईटीटीएफ) को आयोजनामा इटालीको रोममा सम्पन्न वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा भारत देशको तर्फबाट मास्टर च्याम्पियनशीपमा भाग लिएर हालैमा फर्केका छन्। उनले उक्त वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा सिंगल र डबल्समा भाग लिएका थिए। उनी यस च्याम्पियनशीपको सिंगलमा क्वाटर फाईनलसम्म पुगेका थिए भने डबल्समा क्वालिफाई गरेर अर्को खेलमा हारेका थिए। सिंगलमा गौतमकुमार छेत्रीले 50 वर्ष माथिका उमेर वर्गका खेलेका थिए भने डबल्समा यसै वर्गमा खेलेका थिए अनि डबल्समा उनको जोडीदार इटालीकै रहेका थिए। इटालीमा सम्पन्न वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा जम्मा १२५ वटा देशहरूबाट ६ हजार १ जनाले सहभागिता जनाएका थिए। यसमा भारतको तर्फबाट १२ जनाको टोली रहेका थिए जसमा गौतमकुमार छेत्री पनि रहेका थिए। गत वर्ष २०२३ मा पनि खरसाङका अन्तरार्ष्ट्रीय टेबल टेनिस खेलाड़ी गौतमकुमार छेत्रीले ओमानमा सम्पन्न वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा भाग लिएका थिए। त्यसको अतिरिक्त उनी राष्ट्रिय टेबल टेनिस खेलाड़ी पनि हुन्। उनले राष्ट्रिय स्तरमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्दै खेल्ने गरेका छन्। राष्ट्रिय स्तरमा पनि उनले सन् २०२२ मा बंगलोरमा सम्पन्न प्यान ईण्डियन मास्टर गेम्समा टिम च्याम्पियनशीपमा गोल्ड मेडल जित्न सफल भएका थिए। यसरी अन्तरार्ष्ट्रीय स्तरमा वल्ड मास्टर टेबल टेनिस च्याम्पियनशीपमा भाग लिएर फर्केका अन्तरार्ष्ट्रीय टेबल टेनिस खेलाड़ी गौतमकुमार छेत्रीलाई विभिन्न संघ संस्थाहरू र खेलसित सम्बन्धित संघ संस्थाहरूले वृहत रूपमा सम्मान जनाउनु पर्ने हो तर त्यो देखिएको छैन। राष्ट्रिय र अन्तर्राष्ट्रीय स्तरमा टेबल टेनिस खेलीसकेका टेबल टेनिस खेलाड़ी गौतमकुमार छेत्री खरसाङ, दार्जिलिङ र पहाड़मा नै टेबल टेनिस एकाडेमी खोलेर पहाड़का नानीहरूलाई यस खेलप्रति अघि बढाउन चाहान्छन्। यस खेलमार्फत् नानीहरूले राम्रो करियर बनाउन सक्ने र यस खेलमा राष्ट्रिय स्तरमा खेल्न सके सरकारी नोकरीसम्म पाउने भएकोले उनी यस खेलप्रति नानीहरूको चासो बढ़ाउन चाहान्छन् साथै पहाड़को प्रतिभाशाली खेलाड़ीहरूलाई अघि बढ़ाउन चाहान्छन्। टेबल टेनिस खेलको सम्बर्ध्दन र उन्नतिको लागि काम गर्न चाहेको पनि उनले बताएका छन्। उनी आफु सातौं श्रेणीदेखि मै टेबल टेनिस खेल्दै आएका थिए भने कलेज जीवनमा अत्याधिक टेबल टेनिस खेलेर राष्ट्रिय स्तरसम्म ओपेन च्याम्पियनशीपसम्म खेलेका थिए। हालमा उनी मास्टर च्याम्पियनशीपमा राष्ट्रीय र अन्तर्राष्ट्रीय स्तरमा टेबल टेनिस खेलिरहेका छन्। उनी अहिले दार्जिलिङ जिल्ला टेबल टेनिस एसोसिएशनको सह सचिव पनि हुन्। त्यसरी नै खरसाङ महकुमा स्तरीय टेबल टेनिस एसोसिएशन पनि रहेको छ। तर अहिले निष्क्रिय रहेकोले यसलाई जगाउन चाहान्छन् गौतमकुमार छेत्री। यसको साथै भावी पिँढीलाई लिएर टेबल टेनिस अकादमी शुरु गरेर पहाड़का नानीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रीय स्तरमा लान चाहान्छन् ताकि नानीहरूको भविष्य बनियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement