झापा: कोशी राजमार्गको धनकुटा-हिले खण्डमा आइतबार बेलुकी ५ः२० बजे मोटरसाइकल र पिकअप गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकको पछाडि बसेका मोरंग जिल्ला स्थित सुन्दरहरैँचा नगरपालिका ८ मोरङका ३२ वर्षीय सुमन सुवेदी रहेको प्रहरीले जनाएको छ। धनकुटा नगरपालिका १ निगालेस्थित बागेश्वरीथानको सहायक मार्गबाट राजमार्गमा पुग्नासाथ पिकअपले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रदेश १-०२ ०५३ प ३१६८ नम्बरको उक्त मोटरसाइकललाई सो दिशाबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १-०४ ००१ च १३३६ नम्बरको पिकअपले घुम्तीमा ठक्कर दिएको प्रहरीको भनाइ छ। ठक्कर दिने पिकअप धनकुटा नगरपालिका ६ पाङ्सीङबाट छथर जोरपाटी मल लिएर जाँदै गरेको जनाइएको छ। मोटरसाइकलमा सवार सुवेदीको गम्भीर अवस्थामा उद्धार गरेर धनकुटा जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल चालक दिपेश ढकाल रहेका थिए। तेह्रथुमको छथर गाउँपालिका ५ घरतर्फ जाँदै गर्दा दुर्घटना भएको ढकालले बताए। ठक्कर दिने पिकअप गाडीका चालक लक्ष्मण राई र मोटरसाइकल चालक ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक मोटरसाइकलका चालक ढकालका भिनाजु रहेको जनाइएको छ। उनी नेपाली सेनामा कार्यरत रहेको बताइएको छ।