माउण्ट कञ्चन एकाडेमीले रजत जयन्ती समारोह आयोजना गर्ने

Chhetriya-Samachar-1

गेजिङ: पश्चिम सिक्किमको मानेबुङ देन्ताम क्षेत्रमा पछिल्ला २५ वर्षदेखि शिक्षाको क्षेत्रमा सेवा पुऱ्याउँदै आएको एउटा निजी विद्यालय माउण्ट कञ्चन एकाडेमीले रजत जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयको व्यवस्थापन समिति, शिक्षक-शिक्षिका अनि स्थानीय नागरिक समाजका सदस्यहरूले आज एउटा बैठक गरेर यो निर्णय लिएको हो। उल्लेखनीय छ, वर्ष १९९८मा गाईको गोठमा यस विद्यालयको स्थापना गरिएको थियो।
विगत २५ वर्षदेखि शिक्षाको क्षेत्रमा सेवारत रहेको माउन्ट कञ्चन एकाडेमीको रजत जयन्ती भव्य रुपमा आयोजना गर्ने उद्देश्यले सिक्किम सरकारको शिक्षा विभागका पूर्व निर्देशक जेपी छेत्रीको अध्यक्षतामा आजको बैठक बसेको थियो। बैठकमा अतिरिक्त जिल्ला विकास अधिकारी सुरत गुरुङ, स्थानीय जिल्ला पञ्चायत सदस्यहरू, पूर्व शिक्षकहरू, विद्यालयका संस्थापक एनबी गुरुङ र प्राचार्य सीके शर्माको विशेष उपस्थिति रहेको थियो। विद्यालयले गत वर्ष नै २५ वर्ष पूरा गरेको तर कतिपय कारणवश यस वर्ष मात्र रजत जयन्ती पालन गरिने तय भएको बारे बैठकमा जानकारी गराइयो। यसको साथै आगामी नोभेम्बर महिनाको अन्तिम सातामा विद्यार्थीहरूको अध्ययनमा कुनै प्रकारको बाधा सिर्जना नहुने गरी कार्यक्रम आयोजना गरिने पनि बैठकले निर्णय लिएको छ। विद्यालयको विकास यात्रालाई प्रेरणादायी बताउँदै भविष्यका लागि उदाहरणीय रहने बैठकमा वक्ताहरूले आफ्नो विचारहरू व्यक्त गरे।
रजत जयन्ती समारोहमा विविध कार्यक्रमको साथमा विद्यालयका पूर्व शिक्षक-शिक्षिका, विद्यार्थी र अशिक्षण कर्मचारीहरूलाई सम्मान जनाइने भएको छ। कार्यक्रम सम्बन्धमा आगामी ४ अगस्तको दिन अघिल्लो बैठक बस्ने आजको बैठले निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement