गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आईआरबीको प्रथम बटालियनका जवानहरू र वर्तमानमा दिल्ली पुलिसमा स्थानान्तरित सिक्किम पुलिसका कर्मीहरूसॅंग भेट गरे। ओल्ड सिक्किम हाउसमा अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले जवानहरूको कामकाजबारे जानकारी लिॅंदै उनीहरूका सेवा सम्बन्धित विषयमाथि चर्चा गरे। यसैगरी, उनले जवानहरूका गुनासो पनि सुने।
मुख्यमन्त्री तामाङले आफ्नो परिवारदेखि टाडा रहेर पनि सेवाप्रति अथक समर्पणको निम्ति जवानहरूको सराहना गरे। उनले राष्ट्र, राज्य अनि समाजप्रति जवानहरूको उदाहरणीय सेवाको निम्ति शुभकामना व्यक्त गरे। अन्तरक्रिया कार्यक्रमपछि रात्रिभोज आयोजना गरिएको थियो।
यस अवसरमा वन विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा, विधायक एनबी प्रधान, प्रधान आवास आयुक्त एके चन्द, सीएमओ सचिव एसडी ढकाल, विशेष डीजीपी श्रीधर राव, आईआरबीका कमाण्डेन्ट पाल्देन भोटिया आदि पनि उपस्थित थिए।