गान्तोक: केही दिन अघिदेखि निरन्तर परेको पानीले राज्यको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको छ। सोही क्रममा मंगन जिल्लाको कवि लुङचोक निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न स्थानमा पानीले क्षति पुऱ्याएपछि यसको जायजा लिने उद्देश्यले विधायक टीटी भोटियाको नेतृत्वमा प्रभावित स्थलको निरीक्षण गरिएको जानकारी गराइएको छ।
विशेष गरेर हिजोको पानीले गान्तोकदेखि मंगनलाई जोडने राष्ट्रिय राजमार्गलाई पनि प्रभावित गरेको छ। विधायक भोटियाको नेतृत्वमा गएको टोलीले छुबा खोलादेखि निरीक्षण शुरू गरेको थियो। टोलीले निरीक्षणको क्रममा कवि रोङपा ग्राम पञ्चायत यूनिट अन्तर्गत गाईखानामा सबै भन्दा अधिक क्षति पुऱ्याएको पत्तो लगेको छ।
यसरी नै अचानक बाढी आएपछि बाक्चा प्राथमिक पाठशालालाई पनि प्रभावित तुल्याएको जानकारी गराएको छ। विधायक भोटियाले सम्वन्धित अधिकारीहरूलाई सबै काम शीघ्र गरेर सामान्य बनाउनु पर्ने निर्देश दिएका छन्। निरीक्षण टोलीमा महकुमा अधिकारी प्रकाश राई, जिल्ला पञ्चायत लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।