स्वतन्त्र दिवसको उपहारको रूपमा दार्जीलिङ्गलाई म सफा, खुल्ला अनि दोकानरहित चौरास्ता अनि मल रोड फिर्ता दिनेछु: अनित थापा

IMG-20240728-WA0232

दार्जिलिङ: स्वतन्त्र दिवसको उपहारको रूपमा दार्जीलिङ्गलाई म सफा, खुल्ला अनि दोकानरहित चौरास्ता अनि मल रोड फिर्ता दिनेछु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले बताएका छन्। उनले आज एक भिडियो जारी गर्दै उक्त कुरा बताएका छन्। जीटीए प्रमुख अनित थापाले दार्जीलिङको चौरास्ता अनि मल रोड दार्जिलिङ शहरको मुटु मानिन्छ र यही ठाँउमा हाम्रो विश्वासको प्रतिक महाकाल बाबाको धाम पनि अवस्थित छ भनी बताएका छन्। उनले यस विषयमा भने, ‘यहाँको फुटपाथहरूमा दोकानपाट चलाउनुको कारण मानिसहरूलाई हिँड्न गाह्रो भएको गुनासो हामीले पाईरह्यौं। त्यसरी नै पूजा अर्चना गर्ने स्थल परिसरमा विभिन्न खाद्यान्न पकाएर बेच्ने गरेको कारण श्रद्धालुहरूले पनि गुनासो गरिरहेका थिए।दार्जीलिङको चौरास्ता अनि मल रोड स्थानीय वासिन्दाको निम्ति मात्र नभएर देश विदेशबाट आउने पर्यटकहरूको पनि मुख्य केन्द्र रहेको छ। यस क्षेत्रलाई सफा, सुन्दर अनि खुल्ला राख्ने योजना हामीले बनाएका थियौं अनि योजनालाई कार्यमा परिणत गर्न खोजेका पनि हौं।’
अनित थापाले अघि भने, ‘फुटपाथमा पसल चलाउने व्यापारीहरूलाई विस्थापित गर्नु होइन तर उनीहरुलाई वैकल्पिक दोकानपाट चलाउने ठाउँ दिनु हाम्रो प्राथमिकता रहेको छ। उनीहरुलाई हामीले जुन वैकल्पिक स्थान दिएका थियौं, त्यो पहलले हाम्रो समस्या समाधान हुनु सकेन। अब त्यो समस्या पनि समाधान हुँदैछ।
दार्जीलिङवासीलाई स्वच्छ अनि सफा मल रोड फिर्ता गर्ने वचन दिँदै आगामी स्वतन्त्र दिवस अर्थात् पन्ध्र अगस्तदेखि दार्जिलिङको चौरस्ता अनि मल रोडमा कुनै पनि दोकानहरु राखिने छैन भनी घाेषणा गर्दछु। यो मेरो दार्जीलिङवासीलाई स्वतन्त्र दिवसको उपहार हुनेछ।”
यसै क्रममा थापाले अझ भने, ‘दार्जीलिङवासीहरु जसरी पहिला मल रोडको स्वच्छ वातावरण अनि खुल्ला परिवेशमा बिहान, दिउँसो, बेलुकी घुम्नु हुन्थ्यो, अब त्यही वातावरण म फर्काउँदैछु।
यसको साथमा सबै नागरिकले आफ्नो जिम्मेवारी पनि बोकेको हुनुपर्छ। मैला कहाँ फ्याँक्नु पर्ने, कतिबेला फ्याँक्नु पर्ने त्यो जिम्मेवारी बोध लिनुपर्छ। चौरस्ता वरिपरिका व्यापारीवर्गलाई पनि अपिल गर्दछु कि दार्जीलिङलाई सफा सुन्दर राख्नु सहयोग गर्नुहोस। फुटपाथमा दोकान थाप्ने संस्कृतिलाई हटाउनु सहयोग गर्नुहोस।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement