मालदा: जिल्लापालले आलुको कालोबजारी रोक्न प्रशासनिक बैठक गरे। जिल्लापाल नितिन सिंघानियाले जिल्ला प्रशासन भवनमा जिल्लाका सबै कोल्ड स्टोरेज मालिक र आलु व्यवसायीसँग भेटघाट गरेका हुन्। बैठकमा जिल्लापालले आलु भण्डार गरेर बजारमा आलु संकट सिर्जना नगर्न सबै कोल्ड स्टोरेज मालिक र व्यवसायीलाई आग्रह गरेका छन्।

उनले भने, ‘दिसम्बरसम्म आलुको पर्याप्त आपूर्ति कायम राख्नुहोस्। बजारमा आलुको अभाव नहोस् भन्ने ख्याल गर्नुपर्छ।‘ अनावश्यक स्टक राख्दा आलुको भाउ बढ्ने उनको भनाइ छ। यता, प्रशासनले जिल्लाका विभिन्न वार्डमा झण्डै १५ वटा सरकारी आलु बिक्री केन्द्र खोलेको छ भने करिब सातवटा मोबाइल भ्यानले सरकारी मूल्यमा आलु बिक्री गरिरहेका छन्। अहिले मालदाका विभिन्न बजारमा आलुको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपियाँ रहेको छ। तर सरकारी आलु बिक्री केन्द्रमा प्रतिकिलो २६ रुपियाँमा आलु बिक्री भइरहेको छ। त्यसैले प्रशासनले आलुको मूल्य नियन्त्रण गर्न विभिन्न बजारमा छापा मारिरहेको छ।