सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको कुशल आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खोलाचन्द फाप्रीले कार्टर फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा शनिवार भएको म्याच रोमाञ्चक रह्यो, जसमा युनाइटेड खोलाचन्द फाप्रीले बागडोग्रा वरियर्स फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो । नियमित ८० मिनटको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा युनाइटेड खोलाचन्द फाप्रीबाट क्रिस छेत्रीले १८औं मिनटमा गोल गरे। त्यसपछि सेमीले ५७औं मिनटमा फ्री किकबाट दर्शनीय गोल गरी बागडोग्रा वरियर्स एफसी-लाई १-१-को बराबरीमा पुऱ्याए। अब आइतवार खेलिने म्याचमा बेतगेड़ा फूटबल क्लब र लीजेण्ड्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा एक लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रत्येक म्याच दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ।