सोरेङ: रिञ्चेन्पोङ समष्टिको साङ्गादोर्जी ग्राम पञ्चायत एकाई अन्तर्गत बाह्र माइलस्थित हात्तिढुङ्गामा साङ्गादोर्जी वन धन विकास केन्द्रद्धारा आयोजित हर्दी र अदुवाको मसला पाउडर बनाउने दस दिने प्रशिक्षण कार्यक्रमको आज समापन भयो। केन्द्र सरकारको जनजाति मामिला मन्त्रालयद्धारा सञ्चालित प्रधानमन्त्री वन धन योजनाको राज्यमा नोडल विभाग खानी तथा भूगर्भ र विज्ञान तथा प्रौद्योगिकी विभाग छन् भने यस योजनाको कार्यान्वयन र निगरानी सहकारिता विभागले गरिरहेको छ। प्रधानमन्त्री वन धन योजना अन्तर्गत साङ्गादोर्जी ग्राम पञ्चायत एकाईका स्थानीय स्वयं सहायता समूहका महिला सदस्यहरु घरेलु शिल्प विकास गर्नहेतु साङ्गादोर्जी वन धन विकाश केन्द्रमा हर्दी अनि अदुवाको मसाला पिठो उत्पादन र प्याकेजिङ गर्ने प्रशिक्षणको आज समापन भएको हो।
कार्यक्रममा रिञ्चेन्पोङ समष्टिका निवर्तमान सीएलसी अध्यक्ष जितहाङ सुब्बा मुख्य अतिथिको रूपमा उपस्थित थिए।
उल्लेख्य, प्रधानमन्त्री वन धन योजना (पीएमवीडीवाई) अनि वन धन विकास योजना (वीडीवीवाई) केन्द्र सरकारले जनजाति मामिला मन्त्रालय अन्तर्गत २०१९-मा देशव्यापी रूपमा शुरू गरेको एउटा महत्त्वकांक्षी योजना हो। यसको उद्देश्य देशमा रहेका जनजाति समुदायको मानिसहरुको आजीविकामा सुधार ल्याउनु हो। यो योजनामार्फत ग्रामीण क्षेत्रका जनजाति मानिसको उत्पादन बढाएर उनीहरुलाई कौशल प्रशिक्षण र क्षमता निर्माण गरि गाउँलेहरुको आयस्रोतमा वृद्धि ल्याउनु पनि हो। जनजाति मानिसहरुलाई वैकल्पिक आजीविकाको अवसर प्रदान गरि उनीहरुको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन सँगसँगै यो योजनाबाट केवल उद्यमितालाई बढाउनु मात्रै होइन तर वनको संरक्षण र जैवविविधताको सुरक्षा गर्नु पनि हो।
सम्बोधन गर्ने क्रममा सहकारिता विभागका सोरेङ जिल्ला जोइन्ट रेजिस्टर रतन हाङ सुब्बाले सिक्किममा प्रधानमन्त्री वन धन योजना अन्तर्गत मोठ 80 ठाउँमा सञ्चालन भइरहेको अनि सोरेङ जिल्ला भित्र आठ स्थानमा वन धन योजना सञ्चालन भइरहेको जानकारी गराउँदै यी मध्ये साङ्गादोर्जी वन धन विकास केन्द्र पनि एउटा हो भने। उनले अघि भने, केन्द्र सरकारको जनजाति मामिला मन्त्रालयद्धारा सञ्चालित यस योजना सिक्किम राज्यमा खानी तथा भूगर्भ र विज्ञान तथा प्रौद्योगिकी विभाग नोडल विभाग रहेको अनि यस योजनाको कार्यान्वयन र निगरानीसहकारिता विभागले गरिरहेको छ। यस योजनामा ६० प्रतिशत लाभार्थीहरु जनजाति समुदायबाट अनिवार्य रूपमा पर्ने बताए।