५ अप्रेल २०२५ भित्रमा भारत सरकारले गोर्खाहरुलाई न्याय दिएको हुनुपर्छ: मन घिसिङ
खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा खरसाङको लङभ्युमा अवस्थित शहीद वेदीमा आयोजना गरिएको शहीद दिवस समारोहमा आज गोरामुमो अध्यक्ष मन घिसिङद्वारा शहीदहरुलाई सम्मान गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई गोरामुमो अध्यक्ष मन घिसिङ टाउकोमा कालो पट्टी बाँधेर आएका थिए। उनले टाउकोमा कालो पट्टी बाँधेर नै गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले भने, ‘गोर्खा जातिले न्याय पाउनुपर्छ भने सबै एक हुनुपर्छ। यो मैले बारम्बार भन्दै आएको हो। गोर्खा एकताको निम्ति अब पार्टीको झण्डालाई पन्साएर सबैले कालो झण्डा लगाउन अपिल गर्दछु। पहाडमा धेरै पार्टी अनि झण्डाहरुको जन्म भयो सबै आ-आफ्नो तालमा कुदेका छन्। सबैले शहीद दिवस भव्य रुपमा मनाउने होडमा छन् तर शहीद कुनै राजनैतिक दलको पेवा होइन। शहीदहरूले जाति र माटोको उन्मुक्तिको निम्ति आफ्नो प्राणको आहुति दिएका हुन्। वहाँहरु गोर्खा शहीद हुन्। आज मैले कालो पट्टि र कालो झण्डा लगाउनु अर्थ गोर्खा एकताको प्रतिक हो।’

गोरामुमो अध्यक्ष मन घिसिङले अघि भने, ‘हामी पिसिएको बीस वर्ष टेक्दैछ। मैले प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहलाई बारम्बार भेटेर बुझाउने कुरा सम्झाउने कुरा सबै गरिसकेको छु । प्रधानमन्त्री मोदीले गोर्खाको समस्याको समाधान नजिक रहेको भनेपछि अब म बारम्बार दिल्ली जानु पर्दैन। अब भारत सरकारले दिल्लीबाट हुन्छ कि गोर्खा भूमिमा आएर हुन्छ घोषणा गर्नु पर्यो। कालो पट्टी अनि कालो झण्डा लगाउनुको अर्थ हामी खुसी छैनौं भन्ने भारत सरकारलाई मेरो सन्देश पनि हो। यस पालीको चुनाव कठिन थियो तर गोर्खा जनताले मुद्दाको निम्ति फेरि पनि राजु विष्टलाई जिताएर पठाएको छ। यदि नाला झोडाको निम्ति भए राजु भाईको बिजय हुने थिएन। अब गोर्खा जातिले मुद्दा फत्ते गर्न पुल बनाइदिएको छ। राजु भाईले पनि गोर्खा जातिको सपना पूरा गर्नु पर्छ। भारत सरकारलाई चाप सृष्टि गर्नको निम्ति आगामी दिनहरूमा पार्टीले निरन्तर कार्य गर्नेछ। पार्टीभन्दा जाति ठूलो जातिभन्दा माटो ठूलो भन्ने मूल मन्त्र लिएर नै म अघि बडेको हुन्छु।’
मन घिसिङले गोर्खाहरूको समस्या समाधान हुनुपर्छ भन्दै भने। ‘आगामी ५ अप्रेल २०२५ सम्म भारत सरकारले स्थायी राजनैतिक समाधानमार्फत् गोर्खाहरुलाई न्याय दिएको हुनुपर्छ। नत्र भने यहाँको अवस्था गम्भीर भएर जानेछ। गोर्खा जातिको अवस्था चिन्ताजनक भइसकेको छ। चारैपटि हेपाई खाँदैछौं। स्वभिमानी गोर्खाहरुले अब कालो झण्डा लगाए हामी खुसी छैनौं भनी सन्देश दिनु सक्नुपर्छ।’