खरसाङ: १९८६ सालमा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीस्थित शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। घैयाबारीमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी नेताजी प्राथमिक पाठशालाको प्रधान अध्यापक बिजय गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री अनि विशिष्ट अतिथिको रूपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। पञ्चायत समिति सदस्य वाङ्दी लामाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शंकु खवासले राखेका थिए। कार्यक्रममा घैयाबारी क्षेत्रबाट गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि बलिदान दिएर शहीद बनेका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। घैयाबारी क्षेत्रबाट शहीद बनेका शहीदहरूमा महेन्द्र नारायण प्रधान, लवाङ तामाङ, शिवनारायण थापा, मधुकर थापा र कृष्ण जोगी थिए। कार्यक्रममा शहीदका परिवारहरूलाई आयोजक समितिको पक्षबाट खदार्पणसहित उपहार प्रदान गरेर सम्मान जनाइएको थियो। यसै कार्यक्रममा घैयाबारी निवासी एंव पूर्व पार्षद आईएन प्रधानको पनि विशेष उपस्थिति रहेको थियो भने उनले पनि शहीद वेदीमा आएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा शहीदहरूका परिवारका सदस्यहरूले पनि शहीद वेदीमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा शहीद दिवस कार्यक्रम जीटीए क्षेत्रका विभिन्न स्थानहरूमा पालन भईरहेको बताएका छन्। उनले शहीदहरूका सपना साकार हुनुपर्छ भन्दै शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्।
र सभाध्यक्ष शिक्षक बिजय गुरुङले पनि सम्भाषण राखेका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्याहरू अरूणा योञ्जन, मिट्ठु लामा राई, महेस छेत्री लगायत भूतपूर्व सैनिकहरू, शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू साथै विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। घैयाबारीमा सम्पन्न शहीद दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पञ्चायत सदस्य वाङ्दी लामा र शहीदको परिवारका सदस्य जयराज थापाले विस्तृत रूपमा बताएका छन्।