खरसाङ: खरसाङको तीनधारेमा आयोजित शहीद दिवस कार्यक्रममा शहीदको परिवारको पक्षबाट बोल्दै प्रणय गुरुङले शहीदको मांग अनुसार अहिले पनि गोर्खाल्याण्ड नभएको र पहाड़मा अब कुन नेता आउँला गोर्खाल्याण्डको लागि भनेर सबैले जिज्ञासा राखेको बताएका छन्। उनले सत्तामा रहेको पार्टीले शहीद दिवस मनाउँदा पनि यसरी टुमौटे प्रकारले कार्यक्रम गर्नु एकदमै हास्यास्पद कुरा रहेको बताउँदै पहिले शहीद दिवस भव्य रूपमा पालन गरिन्थ्यो। तर अहिले यो एकदमै खेलाँची भएको बताएका छन्। उनले शहीद दिवस पालन गर्नु पहिलेबाटै समिति गठन गरेर पालन गर्नुपर्ने हो र कार्यक्रममा विभिन्न संघ संस्थाहरू र वरिष्ठ व्यक्तिहरू सबैलाई पत्रचार गरेर बोलाएर आयोजना गरिनु पर्ने बताएका छन्। गोर्खाल्याण्ड आन्दोलनमा तीनधारेबाट शहीद भएका बिनय गुरुङको भाइ प्रणय गुरुङले शहीद दिवसमा १० रुपियाँको खदा लगाएर वर्षभरि बिर्सेर हुँदैन भनी बताएका छन्। उनले शहीदका परिवारहरूले केही मांग गरेको छैन। तर सत्तामा रहेको पार्टीले नै दिन्छु भनेकोले सबै कागज पत्रहरू बुझाएको तर अहिलेसम्म नपाएको बताउँदै हाम्रो सुनिदिने कोही छैन। सत्ताधारी पार्टीद्वारा दिन्छु भनेर घोषणा गरे पनि केही नदिनु लाजमर्दो कुरा रहेको बताएका छन्। उनले वर्षमा एक दिन १० रूपियाँको खदा लगाएर तर वर्षभरि वास्ता नगरेर शहीद दिवस पालन गर्नु केवल नाटक मात्र लाग्छ भनी बताएका छन्।