पेरिस: सीन नदीमा नौकामा सवार भएर खेलाड़ीहरूका परेडको मनोहर दृश्यहरूबीच परम्पराबाट अलग ३३औं ओलम्पिक खेलहरू रंगारंग उद्घाटन समारोहमा शुक्रवार राति फ्रान्सले आफ्नो सांस्कृतिक धरोहर, क्रान्तिको इतिहास र वास्तुकलाको असाधारण धरोहरलाई विश्व अघि पेश गऱ्यो। साधारणत स्टेडियममा हुने परेडको परम्परादेखि अलग यहाँ ६ किलोमीटरको परेड आस्टरलिज ब्रीजबाट शुरु भयो, जसमा ८५ वटा नौकामा २०५ वटा देशका ६८०० भन्दा अधिक खेलाड़ीहरू सवार थिए अनि एउटा शरणार्थी ओलम्पिक टीम पनि थियो। यसरी शनिवार स्पर्धा भएको हुनाले धेरैजना खेलाड़ीले उद्घाटन समारोहमा हिस्सा लिएनन्।

फ्रान्सका राष्ट्रपति एमेन्युएल म्याकरोनले खेलहरूको शुरुवातको घोषणा गरे अनि शनिवारदेखि आउँदो १६ दिनसम्म चल्ने खेल महाकुम्भको औपचारिक शुरुवात पनि भयो। उद्घाटन समारोहको मुख्य आकर्षण सीन नदीमा खेलाड़ीहरूका मार्च थियो। कार्यक्रमको शुरुवातमा क्यामेरा फ्रान्सका राष्ट्रपति म्याकरोन र अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)-का प्रमुख थोमस बाकमाथि थियो। त्यसपछि फ्रान्सका महान फूटबलर जिनादिन जिदानलाई पहिलादेखि नै रेकर्ड गरिएको भीडियोमा ओलम्पिक मशालको साथ पेरिसको सड़कहरूमा दौड़िरहेको देखियो। त्यसपछि फ्रान्सीसी वर्णमालाको क्रममा टीमहरूको आगमन भयो। पहिला ओलम्पिक खेलहरूका जनक ग्रीसको टीम आयो। दोस्रो नम्बर शरणार्थी टीमको थियो। आयोजक फ्रान्सको टीम सबैभन्दा अन्तमा आयो अनि प्रशंसकहरूले ताली बजाएर आफ्ना खेलाड़ीहरूलाई स्वागत जनाए।

भारतीय दलको अगुवाई दुईजना ध्वजवाहक दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू र टेबल टेनिस स्टार अचन्त शरत कमलले गरे। भारतीय टीम ८४औं नम्बरमा आयो। महिला एथलीटहरूले राष्ट्रिय ध्वजको रंग भएको साड़ी लगाएकी थिइन् भने पुरुषहरूले कुर्ता पायजामा लगाएका थिए।

उद्घाटन समारोहमा भारतका ७८ जना खेलाड़ी र अधिकारीहरूले हिस्सा लिए। भारतले पेरिस ओलम्पिकमा ११७ जना खेलाड़ीको दल पठाएको छ। नौकाहरू शहरको ऐतिहासिक क्याथेड्रल अव् नोत्रे डेम, लावरे म्यूजियन र केही आयोजन स्थलहरूबाट भएर गयो।

अमेरिकी पप स्टार लेडी गागाले आफ्नो प्रस्तुतिद्वारा सबैको मन जितिन्। उद्घाटन समारोहको निर्देशन थोमस जलीले गरेका थिए। शहरमा उद्घाटन समारोहको निम्ति २ लाखभन्दा अधिक फ्री टिकट दिइएको थियो जबकि १ लाखभन्दा अधिक टिकट बिक्री भएको थियो।

उद्घाटन समारोहमा सुरक्षाको पक्का बन्दोबस्त गरिएको थियो अनि भारी संख्यामा पुलिस बल र सैनिकहरू तैनाथ गरिएको थियो। पेरिसमा १९०० र १९२४ पछि तेस्रोपल्ट ओलम्पिक भइरहेको छ।











