बिराटनगर:निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइभन्दा बढी काम सम्पन्न भएको छ। आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ को काम भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएका छन्। त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ। अबको एक वर्षभित्र सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको उनले बताए।
त्यसै गरी आयोजनाका इन्जिनियर अच्युत भट्टले त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्नका लागि बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए।
एक लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको हुने छ। एउटा लेनको चौडाइ ३.५ मिटरको हुने छ। सो फ्लाइओभरबाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड) मार्फत सुरुङमार्गको काठमांडूतर्फको पोर्टलमा पुग्न सकिन्छ। काठमांडूबाट सुरुङमार्ग भएर जाने सवारीसाधनले मात्र फ्लाइओभरको प्रयोग गर्न पाउने छन्। सुरुङमार्ग भएर काठमांडू भित्रिने सवारीसाधनले सडकमार्गको प्रयोग गर्ने छन्।
अनुगमनका क्रममा समितिका सदस्यले आयोजनाको प्रगति र समस्यालगायतका विषयमा जानकारी लिनुका साथै निर्धारित समयमा गुणस्तरीय किसिमले काम सम्पन्न गर्न आयोजनाका इन्जिनियरलाई निर्देशन दिएका थिए।
अनुगमन टोलीका संयोजक तथा समितिका सभापति सिंहले यस वर्षभित्र नै सुरुङमा सवारीसाधन सञ्चालन गर्ने सरकारले यसअघि नै घोषणा गरिसकेको हुनाले सो अनुसार कामलाई तीव्रता दिन निर्देशन दिए। उनले अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएकोलगायतका समस्या देखिएको बताउँदै ती समस्याको समयमा नै समाधान गर्नुपर्ने बताए।